भरतपुर, ४ कार्तिक ।
आज राति आकाशमा अत्यधिक उल्कावर्षा देखिने भएको छ । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको हो । यो पुछ्रेताराका कारण वर्षमा दुई वटा उल्कावर्षा हुन्छन् । हेलीको पुछ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ नाम गरेका दुइटा उल्कावर्षा हुने गर्दछन् ।
आज हुने उल्का वर्षाको स्रोत ओरायन अर्थात् मृगशिरा तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा भनिएको हो । अंग्रेजी भाषामा यसलाई ओरियनिड मिटियर सावर भन्ने गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई बताए । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाएको यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ । उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार आज राति १०ः४५ देखि नै सुरु भई भोलि (बुधबार) बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ ।
अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने र पृथ्वीको सतहभन्दा करिब ७० किमी माथि वायुमण्डलमा घर्षण पैदा हुँदा यस्तो दृश्य देखिने पनि सोसाइटिका अध्यक्ष भट्टराईले बताए ।
के हो उल्का वर्षा ?
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भन्ने गरिएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोको भाषामा ‘तारा खसेको’ पनि भनिन्छ ।
के हो हेलीको पुछ्रेतारा ?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छे«तारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुछ्रेतारा’ भनिएको हो । यो पुछ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । अघिल्लो पटक सन् १९८६ मा देखिएको यो पुच्छे«तारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
श्रोत : रासस