विप्लव काफ्ले÷कायाकैरन
भरतपुर, ६ साउन ।
स्वदेश होस् या विदेशमा रोजगारी गर्न सीप भएर मात्रै पुग्दैन, त्यसको पर्याप्त प्रमाणीकरण आवश्यक छ । सीप जानेर मात्रै पुग्दैन । यसलाई मान्यता दिने गरी परीक्षण र त्यसको प्रमाणीकरण आवश्यक हुन्छ । राष्ट्रिय सीप परीक्षण समितिले यो काम गर्छ ।
यो समितिले मुलुकमा विभिन्न भागमा सीप परीक्षण तथा प्रमाणीकरण गर्छ । हालसम्म ३ लाख ५० हजार बढीलाई सीप प्रमाणीकरण भइसकेको छ । सीपयुक्त कामदारलाई रोजगारीका अवसर बढाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतमा रहने गरी सीप परीक्षणको काम गरिन्छ ।
औपचारिक शिक्षा वा अनुभबबाट हासिल गरेको दक्षता वा सीपलाई परीक्षण कार्य अभियानकै रुपमा चलाइएको छ । सीप परीक्षण गर्न देशभरि ५ हजार ८ सय ९६ जना मूल्यांकनकर्ता छन् । सीप परीक्षण केन्द्रमा ३ जना मूल्यांकनकर्ताले कार्यसम्पादन, उत्पादित वस्तुको मूल्यांकन गर्छन् र मौखिक प्रश्नसमेत सोध्ने गर्छन् । सीपमा दक्ष देखिएका व्यक्तिलाई सीप प्रमाणपत्र दिने गर्छन् । विभिन्न २ सय ८५ पेशामा सीप प्रमाणीकरण गर्न राष्ट्रिय सीप परीक्षण समितिले राष्ट्रिय पेशागत मापदण्ड बनाएको छ ।
राष्ट्रिय सीप परीक्षण समितिका उपनिर्देशक टैलेन्द्र आचार्यले सीप प्रमाणीकरण नहँुदा धेरैले रोजगारीका अवसर नपाएको बताउँछन् । “सीप जानेर पनि काम नपाउने अवस्था छ”, भरतपुरमा बिहीबार आयोजित नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (एनभिक्युएस) परियोजनाले गरेको अन्तरक्रियामा उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा मान्यता दिन सीप प्रमाणीकरण आवश्यक छ ।” देशभर नियमित सीप परीक्षण केन्द्र ७६ स्थानमा छन् । जसमध्ये चितवनमा ३ वटा सीप परीक्षण केन्द्र छन् । “जुनुकुनै सीप भएका वा तालिम लिएका सबैले सीप प्रमाणीकरण गराउन सक्छन्”, उनले भने, “प्राविधिक ज्ञान र सीप मापन गरेमा रोजगारीमा लाग्ने अवसर सिर्जना हुनेछन् ।”
“सीप प्रमाणीकरण नगरी विदेश जादा कयौं दक्ष कामदार पनि साना काममा जानुपर्ने अवस्था थियो”, उपनिर्देशक आचार्यले भने, “तहगत सीप प्रमाणीकरण गरेपछि स्वदेश तथा विदेशमा राम्रा रोजगारी पाउने अवसर जुटेको छ ।” हाल ४ तहमा सीप प्रमाणीकरण हुने गरेको छ । पहिलो तहमा १ सय ६० घण्टा तालिम लिएका व्यक्तिले सीप प्रमाणपत्र पाउनेछन् । दोस्रो तहमा खरिदार सरह, तेस्रो तहमा नायव सुब्बा प्राविधिक सरह, चौथो तहमा प्राविधिक अधिकृत सरहको मान्यता दिने गरी सीप प्रमाणीकरण गर्ने गरिएको छ ।
२ वर्ष यता नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (एनभिक्युएस) परियोजना सञ्चालनमा छ । यो परियोजना १० वर्ष सञ्चालन हुनेछ । परियोजनाले योग्यता निर्धारण प्राधिकरण गठन गर्न परियोजनाले सघाइरहेको छ । परियोजनाका टिम लिडर देवीप्रसाद दाहालले सीप प्रमाणीकरण ८ तहमा हुने गरी गर्ने व्यवस्था मिलाउन लागिएको बताए । “तालिम नलिएका धेरै सीपयुक्त छन्”, उनले भने, “अझै मूल्यांकन हुन सकेको छैन, हामी तहगत वर्गीकरण गर्ने व्यवस्था परिमाजर्ननमा जुटेका छौँ ।”
नेपालमा रहेका सीपयुक्त जनशक्तिले स्वदेश तथा विदेशमा मान्यता पाउन सीप परीक्षण अत्यावश्यक रहेको बताए । “हामी गाउँ टोलमै पुगेर सीप परीक्षण गर्ने योजनामा छौँ”, प्राविधिक शिक्षा तथा तालिम विशेषज्ञ उनले भने, “शैक्षिकस्तर सरह नै मान्यता दिलाउने कार्यमा जुटेका छौँ ।”
विगतमा नेपाल सरकारले सीप परीक्षण गर्दा कामका लागिमात्र मान्यता दिने गर्दथ्यो । अब शैक्षिकस्तर सरह मान्यता दिन सीप परीक्षण मापदण्ड परिमार्जन हुन लागेको जानकारी दिए । सरकारले ४ तहमा सीप परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएर सोही सरह सेवासुविधा पाउने गरी २०६० सालमा राजपत्रमा प्रकाशित गरिसकेको छ ।
सीप परीक्षण नहुँदा न्यून तलबमा काम गर्ने अवस्थाको अन्त्य गर्न लागिएको बताए । सीप परीक्षण गरेका युवाहरु श्रमबजार वा स्वरोजगाका लागि योग्य मानिन्छन् । “नेपालमा थुप्रै परम्पराग पेशमा आबद्ध हुने संख्या बढी छ”, उनले भने, “त्यस्ता सीप हस्तान्तरण गर्न र मान्यता दिन देशभर नै सीप परीक्षणको अभियान चलाइने छ ।” सिकारु र कामदारलाई तल्लो तहको सीपबाट उच्चतहको सीपमा र शिक्षा पद्धतिमा जाने बाटो खुल्ला गर्त सीप परीक्षण राम्रो विकल्प हुने उनी बताउँछन् । दाहालले आठ चरणको सीप परीक्षामा उत्तीर्ण व्यक्तिले विद्यावारिधि उपाधि पाउने गरी नीति निर्माण हुने बताए । राजधानीमा वर्षमा तीनपटक र अन्य ७४ जिल्लामा वर्षमा एकपटक सीप परीक्षण हुने गरेको छ ।
विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरुको सीप परीक्षण गरेर उनीहरुलाई प्रमाणपत्रको व्यवस्था गर्न सकेमा उद्यमशीलतामा वृद्धि हुने स्थानीय अगुवाहरुले जोड दिए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमले सामान्य लेखपढ गर्न सक्ने मानिस पनि आफूले गर्दै आएको व्यवसायमा दक्ष हुने भएकाले उनीहरुको सीप परीक्षणपछि योग्यताको प्रमाणपत्र प्रदान गर्न सकेमा पेशाप्रति गर्व महसुस हुने बताउँछन् ।
होटल व्यवसायी संघ–चितवनका अध्यक्ष कमलराज शर्माले नेपालमा दक्ष जनशक्ति भएर पनि प्रमाणपत्रको अभावमा धेरै व्यक्तिहरु रोजगारी पाउनबाट बञ्चित भएकाले सहजरुपमा सीप परीक्षण हुने व्यवस्था गर्नुपर्ने सुझाव दिए । प्राविधिज्ञको स्तर पहिचान गरी एकरुपता कायम गर्नसमेत प्रमाणीकरण अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।
प्रमाणीकरण गरे बिक्छ सीप
प्रमाणीकरण गरे बिक्छ सीप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस