धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,५ साउन।
चितवनको टिकौलीस्थित जैविकमार्गमा सञ्चालन गरिएको संयुक्त अपरेसन प्रभावकारी देखिएको छ । सञ्चालनको छोटो अवधिमै संयुक्त अपरेसन प्रभावकारी देखिएको हो । टिकौलीको जैविक मार्गमा वन्यजन्तुको सुरक्षाका लागि क्याम्प स्थापना गरी अपरेसन चलाइएको छ ।
जथाभावी गाडी रोक्ने सवारीचालकलाई जरिवानासहितको कारबाही गर्ने गरी ‘संयुक्त अस्थायी सुरक्षा पोष्ट’ स्थापना गरिएपछि सो क्षेत्रमा गाडी रोक्ने क्रम नियन्त्रणोन्मुख छ । चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्वयमा सो कार्यको थालनी गरिएको हो । जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्राइँ गर्नेलाई जरिवाना तिराइदैँ आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । अपरेसनको पहिलो दिन साउन १ गते जैविक मार्गमा सवारी रोक्नेलाई कारवाही स्वरुप २८ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको थियो । दोस्रो दिन १४ हजार ६ सय रुपैयाँ तथा तेस्रो दिन २३ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अर्यालका अनुसार तेस्रो दिनको तुलनामा बुधवार चौथो दिन केही कम गाडी कारबाहीमा परेका छन् ।
बुधवार कारबाही स्वरुप १७ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । पहिलो दिन ५८ वटा सवारी साधन, दोस्रो दिन २४ वटा, तेस्रो दिन ४० वटा र चौथो दिन ३० वटा सवारी साधन कारवाहीमा परेका छन् । अर्यालका अनुसार चौथो दिन सम्म कुल ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । हेल्चेक्रयाई गरेर गाडी रोक्ने मोटरसाईकललाई रु १००, साना सवारीलाई ५०० र ठुला गाडीलाई १ हजार जरिवाना तोकिएको छ ।
“वरण्डाभार क्षेत्रअन्तर्गत रहेको सो जैविक मार्ग भएर वन्यजन्तुहरु आवतजावत गर्छन्”, प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले भने, “यसलाई निरन्तरता दिएर गाडी रोक्ने,तीव्र गतिमा चलाउने कार्य नियन्त्रण हुन्छ ।” यसअघि संरक्षणका लागि एक मिनेट भनेर सवारी चालकलाईहरु सो कार्यक्रम बारे जानकारी दिईएको थियो । यहाँ सीसी क्यामेराले समेत निगरानी गर्ने गरिएको छ ।
यहाँको जैविक मार्गमा बाघ, गैंडा, चित्तल, जरायो, मृग, लगायत वन्यजन्तुहरु राजमार्गबाटै ओहरदोहर गर्छन् । गाडीले यस्ता वन्यजन्तुहरुलाई हानेर भाग्ने गरेका छन् । गएको एक बर्षको तथ्यंकमा यो क्षेत्रमा बन्यजन्तु आक्रमणमा १३ घटनामध्ये ३ घटनामा मात्रै कारबाही भएको छ । चितवन राष्ट्रिय निकुञ्जले थालनी गरेको सो कार्य सकारात्मक रहेको रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजाराम रेग्मी बताउँछन् ।
सोही मार्गमा आक्रमणका घटनासमेत स्मरण गर्दै संघका अध्यक्ष रेग्मी भन्छन्, “संयुक्त अपरेसनले वन्यजन्तुको संरक्षण हुनुका साथै मानवीय सुरक्षा पनि हुन्छ । तर, यात्राका क्रममा यात्रुलाई पिसाब फेर्नका लागि असहजता हुने भएकाले रत्ननगर तर्फ टिकौलीमा निर्माणाधीन अवस्थामा रहेको सार्वजनिक शौचालयको कामलाई तीव्रता दिनु पर्ने उनको सुझाव छ । टिकौलीमा रोटरी क्लवको संयोनक मा विभिन्न संघसंस्थाको सहयोगमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको क्रममा छ ।
टिकौलीमा संयुक्त अपरेसन प्रभावकारी बन्दै
टिकौलीमा संयुक्त अपरेसन प्रभावकारी बन्दै

तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस