विप्लव काफ्ले/कायाकैरन
भरतपुर,५ साउन ।
नारायणगढ र भरतपुर बजार यति धेरै व्यस्त भइसके कि यहाँ बाटो काट्नै समस्या पर्न थालेको छ भने गाडी अड्याएर बजार छिर्ने पर्याप्त ठाउँसमेत छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यसको महसुस गरेको छ । उसले नारायणगढ बजारमा तत्काल पार्किङस्थलको व्यवस्थापन गरिनुपर्नेमा जोड दिएको छ भने केही ठाउँमा बाटो काट्न समस्या भएकोले आकासे पुल जरुरी भएको बताइन्छ ।
पार्किङ गर्ने पर्याप्त ठाउँ नभएकोले सडक किनारमै अव्यवस्थित देखिने गरी सवारी पार्किङ गर्दा सडक सीमा झनै साँघुरो बनेको छ । यसले सवारी आवागमनमा असर परेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मूलसडकको आवागमनलाई प्रतिकूल असर पर्ने गरी सवारी पार्किङ गर्न नपाइने प्रावधान छ । तर, यो व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन । पुलचोक र लायन्चोकको बीचमा डिभाइडर प्रयोग गरी बस पकेट क्षेत्र बनाएका छन् । तर, नजिकै व्यवसायी तथा वित्तीयसंस्थाले सुविधासम्पन्न सवारी राजमार्गकै किनारमा राख्ने गर्छन् ।
सर्वसाधारणले सडकपेटीमै मोटरसाइकल पार्किङ गर्ने गरेका छन् । चितवनको मुख्य बजार नारायणगढ क्षेत्रमा व्यवस्थित पार्किङस्थल बनाउन महानगरपालिकाले कुनै पहल नै गरेको छैन । व्यवसायीका संगठनहरु यो विषयमा मौन जस्तै छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नारायणगढ बजारमा ८ स्थानमा पार्किङस्थल निर्माण गर्न सकिने विकल्प सार्वजनिक गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षकले हाइवेको पार्किङलाई यो वर्ष शून्य बनाइने बताए । उनका अनुसार लायन्सचोकस्थित फलफूल तथा थोकबजार, आलुमण्डी क्षेत्र, गणेश चलचित्र भवन मन्दिर पछाडिको खाली जग्गा, बेलचोक नजिकैका दुई खाली जग्गा, कैलाश पेट्रोल पम्पपछाडिको खाली जग्गा, जुनहलतर्फको खाली क्षेत्र, नारायणी नदी किनारमा पार्किङस्थल बनाउन सकिने बताए । “निर्वाचित जनप्रतिनिधिसँग छलफल थालेका छौँ, महानगरपालिकाले अगुवाइ गर्ने अपेक्षा छ”, उनले भने, “सडक किनारमा पार्किङ गरेका सवारी व्यवस्थापनमै समस्या छ, पार्किङस्थल छिट्टै बनाउनुपर्छ ।”
उनले नारायणगढ क्षेत्रका भित्री सडकमा एकतर्फी पार्किङ कार्यलाई थप प्रभावकारी बनाइने बताए । सडकपेटीलाई अस्थायी पार्किङस्थलका रुपमा प्रयोग गरिएको छ । “निःशुल्क वा सशुल्क पार्किङस्थल बनाउनुपर्ने अवस्था छ”, उनले भने, “बजार नै अस्तव्यस्त देखिन थालेको छ, अब सरोकारवाला पक्षले पहल गर्नैपर्छ ।” बजार क्षेत्रमा कायम रहेको फुटपाथ व्यवसाय हटाउन महानगरपालिकासँग समन्वय गरी छिटै अभियान चलाइने जानकारी दिए । नारायणगढ बजार क्षेत्रका घरमा सडकपेटीमा एकरुपता छैन । सटरबाहिरनै सामान राखेर व्यापार गर्ने व्यवसायीलाई कारबाहीको योजना बनाइने बताए । व्यवसायकी ठूला भवनमा पार्कीङस्थल नहुदा बजारको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।
उनले बजार क्षेत्रमा अझै प्रभावकारी ‘रोड मार्किङ’ गर्न कार्यालय लागिपरेको बताए । रोड मार्किङसमेत मेटिन थालेका छन् । वर्सेनि यस्ता कार्यलाई निरन्तरता दिइएको पाइदैन । ट्राफिक संकेत तथा चिन्ह राख्ने कार्यलाई यो वर्ष निरन्तरता दिइने बताए । उनले बजार क्षेत्रका ८ स्थानमा तत्काल आकासे पुल (होभरहेड ब्रीज) निर्माण गरिनुपर्ने बताए । “वडातहबाटै आकासे पुल निर्माण गर्न बजेट विनियोजन गरी काम अघि बढाउनुपर्छ”, उनले भने, “बढ्दो सवारी चाप हेर्दा दुर्घटना न्यूनीकरण गर्न आकासे पुलै उचित विकल्प हो ।” यो वर्ष भरतपुर–नारायणगढ क्षेत्रका मुख्य चोकहरु मालपोतचोक, केन्द्रीय बसपार्कचोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्रचोक, लायन्सचोक, शहीदचोक, पुलचोकमा ट्राफिक लाइट र आकाशे पुल राख्न पहल गरिने बताए ।
प्रत्येक १ सय २० मिटर दुरीको फरकमा सडक पार गर्ने जेब्राक्रसिङ निर्माण कार्यलाई प्राथमिकतामा पारिएको बताए । उनले नारायणी पुल पार गरी आँपटारीतर्फ जाने सडकलाई फराकिलो पार्न आवश्यक रहेको बताए । नारायणी नदीकिनारको बाटो फराकिलो पार्न सकिए बजार क्षेत्रमा पर्ने सवारी चाप कम हुने बताए ।
सवारीपास महानगरको सिफारिसमा
नारायणगढ बजारमा साना सवारी चाप बढ्न थालेपछि सवारी दर्ता प्रक्रियामै कडाइ गरिनुपर्ने सुझाव ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको छ । चितवनमा झण्डै १ हजार १ सय अटोरिक्सा, ट्याक्सी, १ हजार ईरिक्सा, ५ सय म्याजिक, ६ हजार बस तथा मिनिबस आन्तरिक रुपमा सञ्चालनमा रहेको अनुमान छ ।
“सडक फराकिला पारिएका छैनन्, सवारी थपिने क्रम रोकिएको छैन”, ट्राफिक प्रमुख पन्तले भने, “साना सवारी दर्तालाई निरुत्साहित गर्नुपर्छ, महानगरको सिफारिसमा मात्र दर्ता हुने व्यवस्था कार्यान्वयन हुनुपर्छ ।” साना सवारी मनलाग्दी रुपमा राजमार्ग क्षेत्रमा हुइकिदा दुर्घटना दर उच्च भएको छ । ईरिक्सा, अटोरिक्सा, म्याजिक अब थप गर्न नहुने उनको सुझाव छ । राजमार्गमा यस्ता सवारीलाई चल्न नदिई वारपार मात्रै गर्न दिने व्यवस्था कडाईका साथ कार्यान्वयन गरिनुपर्ने बताए । हरेक दिन समाजिक संस्थाको अगुवाईमा वर्षभरीनै ट्राफिक सचेतनामूलक कार्याक्रम गर्ने योजना रहेको बताए । सवारीको गती मापन गर्ने उपकरण प्रयाप्त मात्रामा भित्राएर उच्च निगरानी गरिने बताए ।