विप्लव काफ्ले/कायाकैरन
भरतपुर,४ साउन
चितवनमा बितेको एक वषैमा १ सय ४७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी छन् । झुण्डिएर १ सय ११ जनाले गत एक वर्षमा आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै विषसेवन गरेर ३० जना, हामफालेर ५ जना, हतियार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले नैराश्यताकै कारण आत्महत्या गर्ने बढेको बताए । “एकल महिला, महिला तथा बालबालिका बढी छन्”, उनले भने, “जीवनको महत्व बुझाउन परिवारलेनै पहल थाल्नुपर्ने अवस्था छ ।” उनले प्रहरीले छिट्टै परिवार सुरक्षा युनिट (एफएसयु) बनाएर सचेतना कार्यक्रम सञ्चालन गरिने योजनामा रहेको बताए । “टोल टोलमा परिवारको सुरक्षा संयन्त्र विकास गरिने छ”, उनले भने, “नकरात्मक सोच बदल्ने खालका अभियान पनि चलाइने छ ।”
आर्थिक वर्ष २०७३÷७४ मा प्रहरी कार्यालयमा सार्वजनिक अपराधका उजुरी बढी परेका छन् । ५ सय ११ उजुरीमा ७ सय ३६ जना पक्राउ परेका छन् । यस्तै सवारी ज्यान मुद्धाका उजुरी पनि तेस्रो स्थानमा छ । १ सय ४ मुद्धामा ९९ जना पक्राउ परेका छन् । भवितव्य ज्यानतर्फका ७१ उजुरीमा २ जना पक्राउ परेका छन् । “मानवबेचखिन, लागुऔषधका घटना पनि बढेका छन्”, उनले भने, “निरुत्साहित गर्न जनचेतनाका कार्यक्रम चलाइनुपर्ने आवश्यकता देखिएको छ ।
एक वर्षको अवधिमा ५२ वटा लागुऔषधका मुद्धा दर्ता भएका छन् । जसमा ९३ जना पक्राउ परेका छन् । “साक्षी, पीडितनै नआउदा मुद्धा किनारा लगाउन समस्या देखिएको छ”, उनले भने, “अपराधको जालो तोड्न स्थानीय सहयोग अति महत्वपूर्ण छ ।” बलात्कार सम्बन्धि ५५ मुद्धा प्रहरीमा परेका थिए । जसमध्ये २१ वटा जवरजस्ती करणीका मुद्धामा ३५ जना पक्राउ परेका छन् । बलात्कारको प्रयासका २५ घटनामा २५ जना पक्राउ परेका थिए । बाल यौनदुराचार १ मुद्धा परेको थियो ।
मानवबेचखिनका ९ मुद्धामा ७ जना पक्राउ परेका थिए । जुवा खेल्ने खेलाउने १३ घटनामा १ सय १६ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयमा १ हजार १ सय मुद्धा दर्ता भएका थिए, जसमा १ हजार २ सय १४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७३÷७४ मा चोरीका २० घटनामा ३३ जना पक्राउ परे । गुण्डागर्दी गर्ने १ सय ३ घटनामा १ सय ४ जना पक्राउ परेका छन् । निर्वाचन विरोधि गतिविधिमा संलग्न १८ घटनामा २५ जना पक्राउ परेको कार्यालयले जनाएको छ ।
“अनुसन्धान प्रक्रियालाई वैजानिक स्रोत साधन सम्पन्न गराउनुपर्ने देखिएको छ”, प्रहरी प्रमुख थापाले भने, “प्रविधिको प्रयोग केहि मुद्धा टुंग्याउन सहज बनेको छ, तर अझै प्रविधि थप्नुपर्ने देखिन्छ ।” उनले मोबाइल लोकेसन हेर्न मिल्ने प्रविधि, सहज रुपमा कल डिटेल्स हेर्न मिल्ने व्यवस्था, सूचना प्रणालीमा सुधार गर्न लागिपरेको बताए ।
एक वर्षको अवधिमा १७ जघन्य अपराध भएका छन् । जसमध्ये गोली हानी हत्या गरी लुटपाट घटनामा ६ जना पक्राउ परे । मान्छे मार्ने ८ घटनामा १३ जना पक्राउ परे । मान्छे मार्ने प्रयासका ८ घटनामा ८ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाका ३ सय २० निवेदन परे । जसमा २ सय घटनामा मिलापत्र भए भने १ सय २० घटना अनुसन्धानकै प्रक्रियामा छन् । यो अवधिमा ३ सय ४५ जना हराएको निवेदन परे । जसमा ३ सय १४ जना फेला परे ।