विप्लव काफ्ले/कायाकैरन
भरतपुर,४ साउन ।
चितवनमा ९३ किलोमिटर राजमार्ग छ । भित्री सडक सञ्जालहरु पनि त्यत्तिकै जेलिएका छन् । यसमा दैनिक ठूलासाना दुर्घटना हुने गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा २ सय ५८ सवारी दुर्घटनामा १ सय ६३ जनाले ज्यान गुमाएका छन् भने ५ सय ७५ जना घाइते भएका छन् ।
बितेको एक वर्षमा मुख्य राजमार्गमा सवारी दुर्घटनाबाट १ सय ११ जनाको त मृत्यु नै भएको छ । भरतपुर महानगर र जिल्लाभित्रका अरु सडक सञ्जालमा भएका दुर्घटनामा थप ५२ जनाले ज्यान गुमाएका छन् । घाइतेको आँकडा त्यत्तिकै डरलाग्दो छ । निर्माणाधीन नारायणगढ–मुग्लिङ सडकखण्डमा एक वर्ष अवधिमा सवारी दुर्घटनामा परेकामध्ये ४७ जनाले ज्यान गुमाएका छन् । आँपटारीदेखि मुग्लिङसम्मको करिब ३४ किलोमिटर लामो दूरीमा ३५ सवारी दुर्घटनाको मात्रै तथ्यांक हो यो । जसमा ९५ जना घाइते भएका छन् । यीबाहेक भएका साना दुर्घटना सयौं छन् ।
यो सडकखण्ड भन्दा केही लामो दूरी रहेको नारायणगढदेखि लोथरसम्मको पूर्वपश्चिम राजमार्गको सडकखण्डमा एक वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । ७६ सवारी दुर्घटनामा १ सय ५५ जना घाइते भएका छन् । यो राजमार्गको करिब ३७ किलोमिटर सडकखण्ड चितवनमा पर्छ । यस्तै मुग्लिङदेखि मौवाखोलासम्मको करिब २० किलोमिटर दूरीको पृथ्वी राजमार्गमा २८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ३२ सवारी दुर्घटनामा १ सय २९ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भरतपुर महानगर तथा जिल्लाका भित्री सडकखण्डमा पनि दुर्घटना त्यत्तिकै हुने गरेका छन् । एकवर्षमा भरतपुर महानगरभित्र भएका ठूला ४० दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् भने ४१ जना घाइते भएका छन् । भित्री सडकसञ्जालमा भएका ७५ सवारी दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने १ सय ५५ जना घाइते भए ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा सबैभन्दा बढी ५ सवारी दुर्घटना मंसिरमा भएका थिए । सो महिना ५ जनाले ज्यान गुमाए भने १ जना घाइते बने । सो सडकमा सबैभन्दा बढीले ज्यान गुमाएको महिना भदौ रहेको छ । जसमा ३ सवारी दुर्घटना भएकोमा २६ जनाले ज्यान गुमाए भने २३ जना घाइते भए । यो सडकखण्डमा प्रत्येक महिना कम्तीमा दुई दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले मुग्लिङ सडकखण्डमा थोरै दुर्घटना भएपनि धेरै मानिसले ज्यान गुमाउनुपरेको बताए । “चितवनमा भएका सवारी दुर्घटना मध्ये १४ प्रतिशत दुर्घटना यहि सडकखण्डमा भएका छन्”, उनले भने, “झण्डै २९ प्रतिशतले यो सडकमा ज्यान गुमाउनुपरेको छ ।” यो सडकखण्डमा घाइतेको अनुपातमा मृत्यु हुनेको संख्या बढी भएको उनले बताए ।
पछिल्लो ४ वर्ष यता सवारी दुर्घटनाको संख्या र मृत्यु हुने दर बढ्दै गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा १ सय २ सवारी दुर्घटना भएकोमा ७८ जनाले ज्यान गुमाए भने ३ सय ४७ जना घाइते भए । यस्तै ०७१÷७२ मा १ सय २६ सवारी दुर्घटनामा ८२ जना मृत्यु भए भने २ सय ५९ जना घाइते भए । आर्थिक वर्ष ०७२÷७३ मा २ सय ५८ सवारी दुर्घटनामा ७५ जनाको मृत्य भयो भने २ सय ५३ जना घाइते भए ।
“बढी दुर्घटना चालककै कारण भएका छन्”, ट्राफिक प्रमुख पन्तले भने, “हामी सचेतनामूलक अभियानमा बढी जोड दिएका छौँ, सडकमा ट्राफिक संकेत राख्ने अभियानमा जुटेका छौँ ।” आर्थिक वर्ष ०७३÷७४ मा भएका सवारी दुर्घटनामध्ये चालकको लापरबाहीले १ सय ५८ वटा, ओभरटेकले १६ वटा, तीव्र गतिका कारण ४५ वटा, मादकपदार्थ सेवन गरी चलाउँदा १२ वटा सवारी दुर्घटनामा परेका थिए । चितवनमा ९३ किमि लामो दुरी हाइवे सडक पर्छ ।
चितवनभित्र करिव २ हजार १ सय ८३ किमि सडकसञ्जाल रहेको अनुमान छ । चितवनमा दैनिक १ लाख २८ हजार ८ सय साना ठुला सवारी सञ्चालन हुने गरेको अनुमान छ ।