गैंडाकोट,४ साउन ।
नवलपरासीमा घरजग्गाको कारोबार फस्टाउँदै गएपछि व्यवसायीहरु संगठित हुन थालेका छन् । नवलपरासी क्षेत्रमा ६० भन्दा बढी घरजग्गा व्यवसाय गर्ने व्यवस्थित व्यवसायी छन् ।
२०७१ माघ ९ गते स्थापना भएको गैडाकोट जग्गा तथा आवास व्यवसायी संघमा जग्गा व्यवसायी आबद्ध हुन थालेका छन् । संघले मंगलबार पहिलो साधरणसभा तथा अधिवेशन गरेको छ । जसले संस्थापक अध्यक्ष लीलाबहादुर अधिकारीलाई नै फेरि अध्यक्ष चयन गरेको छ । अधिकारीले बसाइँसराइको चापलाई लक्षित गरी नवलपरासीमा बढ्दै गएको घरजग्गा कारोबारलाई मर्यादित बनाउन संघ लागिपर्ने बताए । “आ–आफ्नो ढंगले आवासीय क्षेत्र विकास गर्ने कामलाई निरुत्साहित गर्दै स्थानीय तहसँग छलफल गरी आवासीय क्षेत्र विकास गर्न लागिपर्ने छौँ”, उनले भने, “भूउपयोग नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक बनाउन पहल गर्नेछौँ ।” उनले जग्गा कारोबारले राष्ट्रिय अर्थतन्त्रमा निर्वाह गरेको भूमिकालाई लक्षित गर्दै मूल्यवृद्धिसँगै लाभकरलाई समयसापेक्ष परिमाजर्नन गर्नुपर्नेमा जोड दिए । संघमा ४८ जनाले आजिवन सदस्यता र २२ जनाले साधरण सदस्यता लिएका छन् ।
विदेश पलायन भएका युवालाई लक्षित गरी संघले व्यावसायिक पकेट क्षेत्रको विकास गर्न सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । संघले गाउँपालिका तथा नगरपालिकास्तरीय उपसमिति गठन गर्ने योजना बनाएको नवनिर्वाचित सचिव लक्ष्मण कण्डेलले बताए । खेतीयोग्य जमिनलाई कृषि उत्पादनकै लागि प्रयोग गर्न दिइने, आवसीय क्षेत्र पहिचान गरी जग्गा कारोबार गर्ने रणनीति लिने कण्डेलले बताए । कण्डेलले व्यवसाय सुरक्षाका लागि संघ लागिपर्ने बताए । संघले छरिएर रहेका व्यवसायीलाई एकीकृत गर्दै साझा संस्थाका रुपमा विकास गरिने लक्ष्य रहेको जनाएको छ । गंैडाकोट, देवचुली, प्रगतिनगर र कावासोती क्षेत्रमा पछिल्ला वर्षमा घरजग्गाको कारोबार बढेको छ ।
साधारणसभा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले समाजप्रति उत्तरदायीत्व रहदै व्यवसाय गर्न सुझाव दिए । उनले समाज हितविपरीतका व्यवसाय गर्ने काम नगर्न अनुरोध गरे । उनले समाजको आवश्यकता र भविष्यसम्म असर नपर्ने गरी जग्गाकारोबार गर्न अनुरोध गरे । कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कँडेल सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचन, उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष देशीराम प्रधान, संघका सल्लाहकार ठानीश्वर रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघको पहिलो अधिवेशनले गठन गरेको १३ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्षमा लीलाबहादुर अधिकारी, महिला उपाध्यक्षमा छमा अधिकारी, अर्का उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा लक्ष्मण कण्डेल, कोषाध्यक्षमा शोभाकुमारी आले, सहसचिवमा रेशमबहादुर गुरुङ, सदस्यहरुमा टीकाराम रेग्मी, रमाकान्त खरेल, दिननाथ अर्याल, भोजलाल श्रेष्ठ, दीपक भट्टराई, शान्ति न्यौपाने र प्रकाश अधिकारी चयन भएका छन् । साथै शंकरनाथ आचार्यको संयोजकत्वमा गठित लेखा समितिमा मीनबहादुर अधिकारी र जीवलाल तिवारी सदस्य छन् ।