विनोदबाबु रिजाल
भरतपुर, २ साउन ।
एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा पनि नेपाल हारेको छ ।
पहिलो खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग ५–० ले हारेको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भयो ।
युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल निकै कमजोर देखियो । कुनैपनि क्षेत्रमा बलियो नदेखिएको नेपाली टिमलाई उज्वेकिस्तानले पूरै खेलभरि आफ्नो नियन्त्रणमा राख्यो ।
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब थियो । आजको हारले फाइनल चरणमा पुग्ने नेपालको सपना लगभग समाप्त भएको छ ।जारी प्रतियोगितामा दूई खेल खेलेको नेपाल अंकविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले दुवै खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान पहिलो स्थानमा छ । त्यसैगरी नेपाललाई पराजित गरेका युएई तीन अंकका साथ दोस्रो स्थानमा छ ।
अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने प्रावधान छ ।