चितवन, २ साउन ।
निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरूको फोटो खिचाउन १५ दिनको समय दिएपछि एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरूले फोटो खिचाउने अवसर पाएका हुन् । साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो ।
कार्यालयमा फोटो खिचाउन आएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गरे । विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उनले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताए ।
पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ । भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिए । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए ।
तर, मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् । रासस