भरतपुर, २ साउन ।
तीव्र प्रतीक्षा गरिएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना वा पुनः मतदान भन्ने विाादको छिनोफानो सर्वोच्च अदालतले आज पनि लगाउन सकेन । अब यो निर्णय थाहा पाउन कम्तीमा एक हप्ता फेरि कुर्नुपर्ने भएको छ ।
पहिलो चरणमा वैशाख ३१ गते भएको निर्वाचनको नतिजा अहिलेसम्म यसै कारणले आएको छैन । मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि त्यसबाट उब्जिएको विवादको अर्को रुप अदालत गएर अड्किएको हो ।
पटक–पटक सर्दै आएको मुद्दामा सोमबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । आजको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका थिए । समय अपुगका कारण सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश भण्डारी भोलि अमेरिका गएर शनिबार मात्र फर्कने भएकाले अर्को सुनवाइ साउन ८ गते हुने सर्वोच्च अदालतले जनाएको छ ।
भरतपुरमा मतगणना हुँदाहुँदै प्रतिनिधिले गत जेठ १४ गते राति मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो । विवादपछि मतगणना स्थगित भयो । माओवादी प्रतिनिधिले मतपत्र च्यातेको आरोप छ । सोही आरोपमा पक्राउ परेका दुईजना माओवादी प्रतिनिधि केही समय हिरासत बसेर धरौटीमा रिहा भएका छन् । यद्यपि उनीहरुको मुद्दा टुंगो लागेको छैन ।
निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
भरतपुर–१९ को मुद्दा टुंगिएन, अर्को सुनुवाइ साउन ८ गते
भरतपुर–१९ को मुद्दा टुंगिएन, अर्को सुनुवाइ साउन ८ गते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस