विनोदबाबु रिजाल
यो साता जिल्ला शिक्षा कार्यालय चितवनले सञ्चालन गरेको सूचना प्रविधिसम्बन्धी २ दिनको तालिममा बस्ने मौका मिल्यो । मूलतः चितवनका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आधारभूत सूचना प्रविधि सिकाउन आयोजना गरिएको कार्यक्रम पूर्वनिर्धारित भन्दा पनि आर्थिक वर्षको अन्तमा ‘फुत्त’ आइपुगेको कार्यक्रम भएको जानकारी आयोजकबाटै पाइयो । कार्यक्रमको उद्देश्य कक्षाकोठा र अफिसमा पनि सूचना प्रविधि कसरी छिराउने भन्ने बाटो खोज्नु नै थियो । तर, कार्यक्रम के नमिले–के नमिलेजस्तै थियो ।
वर्तमान समाज सूचना प्रविधिमा आधारित छ । समग्र मानव जीवन नै सूचना प्रविधिबाट सजिलो बनेको छ । मर्न लागेको मान्छे बँचाउने पद्दति धेरै पहिले विकास भइसकेको हो, अब मात्रै मरिसकेको मान्छे बँचाउने प्रविधिको विकास गर्न बाँकी छ । विश्व त्यही प्रविधि कसले पहिले विकास गर्ने भन्नेमा दौडधूपमै छ । शिक्षण विधि, पद्धति र सिकाइलाई सूचना प्रविधिमा ढाल्ने भन्ने त मामुली कुरा बाँकी विश्वका लागि । तर, हाम्रा लागि अझै पनि यो टाउको दुखाइ नै बनिरहेको छ ।
विश्वले मानवअधिकारका रुपमा लिइने आधारभूत शिक्षामा सबैको सरल पहुँच पु¥याउनका लागि सूचना प्रविधि कक्षाकोठामा भित्राउनु अनिवार्य मानिसकेको छ । दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग अपरिहार्य भनिसकेको छ । बढ्दो विश्वव्यापीकरणअनुसार हाम्रो शिक्षा बिक्न समयको यही गतिमा अघि बढ्न आवश्यक भइसक्यो । तर, हाम्रो कक्षाकोठा कस्तो छ भने अझै हामी उही पुरानो शैलीमै छौं ।
कार्यक्रममै जाऔं, शिक्षा कार्यालयले सूचना प्रविधिमा जानकार प्रशिक्षक उभ्याएको थियो । उनी प्रविधि क्षेत्रमा भएका ठूल्ठूला आविष्कारका कुरा गर्दै थिए । नोटबुकदेखि स्मार्ट बोर्डसम्मको श्रव्यदृश्य प्रस्तुति गरेर देखाइरहेका थिए । तर, त्यही कार्यक्रममा सहभागी एक शिक्षक हाइ काढ्दै थिए । “यो मेरो लागि केही काम भएन”, उनी भन्दै थिए, “म चितवनको कर्णाली (विकट पहाडलाई भनेको) मा पढाउँछु, आफ्नो ज्यान बोकेर हिड्न गाह्रो छ, यो भाँडो कसरी त्यहाँ लानु, कसरी चलाउनु ?” उही कार्यक्रमको सुरुआतमा चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल भन्दै थिए, “यो जमाना ‘भर्चुअल क्लास’ को हो, काठमाडौंको कोठमा पढाएर भरतपुरको विद्यार्थीले भिडियो हेर्छन्, बुझ्छन् ।”
हो पनि ! चितवनमा ४ वटा विद्यालयमा भर्चुअल क्लास नै चल्दो रहेछ । तिनमा काठमाडौंबाट पढाएको भरतपुरकै विद्यार्थीले पढ्दारहेछन् । हाल अध्ययन सामग्रीको खोजीका लागि स्थानीय तथा विदेशी सफ्टवेयर, इन्टरनेट तथा विभिन्न शैक्षिक वेवसाइटहरुको उपयोग हुन थालेको छ । अब सिकाइलाई अनलाइन र अफलाइनमार्फत जुनसुकै बखत हेर्न, पढ्न र सिक्न सकिन्छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइले विद्यार्थीलाई देशभित्र बसेरै एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सम्भव भएको छ । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरुको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य भएको छ । यसका लागि इन्टरनेट, भर्चुअल विद्यालय, भर्चुअल विश्वविद्यालयको माध्यमबाट विभिन्न तहको शिक्षा दिन र लिन सकिन्छ । यत्रोविधि सम्भव रहेछ त फेरि । भएर के त ! चण्डीभञ्ज्याङको टुप्पोमा, लोथरको पाखामा यो के काम ?
विद्यालयहरुमा सूचना प्रविधिको विषयगत पढाईको सुरुआत नभएको होइन, केही ठाउँमा भएका छन् । तर, यसका लागि पूर्वाधार जरुरी छ । कतिपय ठाउँमा त पूर्वाधार मात्रै भएर नपुग्दो रहेछ । शिक्षकहरुमा परिवर्तनका लागि तीव्र इच्छाशक्ति चाहिने रहेछ । अधिकांश सामुदायिक विद्यालयका शिक्षक यसका लागि तयार नै छैनन् ।
आजका बच्च एक वर्ष पुगेपछि नै मोबाइल चलाउन खोज्छन् । “मेरो बाबु वा नानी त मोबाइलमा युट्युब नखोलीकन भातै खान मान्दैन भन्नेहरु पनि देख्या’छु”, सोही कार्यक्रमका प्रशिक्षक शंकर घिमिरे भन्छन्, “अब मोबाइलमा गेम नखेल, ल्यापटपमा भिडियो नहेर भनेर बच्चालाई निषेध गर्ने जमाना नै छैन ।” बरु त्यसलाई व्यवस्थित गरेर कति समय गेम खेल्ने, कति समय भिडियो हेर्ने र कति समय पढ्ने भन्ने ‘रुटिन’ बनाइदिनुपर्ने उनले बताए ।
हाम्रो कक्षामा बालबालिकाको रुचि किन कम छ ? मन्टेश्वरी भनेको बालबालिका हेरचाह केन्द्रमा स–साना बच्चा किन रमाउँछन् त ? बालबालिकाको चाख परिवर्तन भइसक्यो । उनीहरुलाई भुल्याउने शैली परिवर्तन भइसक्यो । अब फेरि २० वर्षअघिको प्रविधिको कुरा गरेर हुँदैन । हाम्रो कक्षाकोठामा अहिले पनि हामी कयौं वर्षअघिको ‘लेक्चर मेथड’ मै रमाइरहेका छौं । त्यहीबेला हाइ काड्ने विद्यार्थीलाई सुम्ला उठ्ने गरी ढाडमा लौरी ठोक्छौं । तर, उसले किन सिकिरहेको छैन, उसको रुचि के हो भन्ने विषयमा खोजी गरिरहेका छैनौं ।
नेपाल सरकारको अहिलेको नीति, कक्षाकोठामा सूचना प्रविधि नै हो । शिक्षणमा ल्यापटप र प्रोजेक्टर नै हो । त्यहीअनुसार हरेक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य छ । “कम्प्युटर होस् कि नहोस्, सबैले पढाउनचाहिं थालेका छन्”, जिल्ला शिक्षा अधिकारी अर्याल भन्छन्, “तर, ई–लाइब्रेरी, ल्यापटप र प्रोजेक्टरको प्रयोग बढेकै देखिएन ।” प्रशिक्षक घिमिरेलाई पनि चिन्ता त्यसैमा छ । “कम्प्युटर कक्षा कम्प्युटरबाट पढाउनु नौलो कुरा होइन, अब स्कूल जाँदा नेपाली विषय प्रोजेक्टरबाट पढाएको हेर्न मन छ, त्यो पो हो प्रविधिअनुकूल त ।”
चितवनका पूर्व जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले एकठाउँमा लेखेका छन्, “सूचना प्रविधिले सिकारुलाई स्वायत्त र स्वावलम्बी बनाउँछ । यसले सिकारुलाई छनौटको मौका दिन्छ । सिकाइलाई रोचक बनाउँछ । सिकारुको क्षितिज फराकिलो पार्न सहयोग पु¥याउँछ । प्रविधिले सिकाइमा आनन्द दिन्छ र बढी सिक्न सहयोग गर्छ भने किन शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग नगर्ने ?” केही वर्षअघि उनी चितवन हुँदा सूचना प्रविधिमा शिक्षकलाई धकेल्ने प्रयास गरेकै हुन् । सञ्चारमाध्यमलाई शिक्षा कार्यालयसँग नियमित जोड्न पनि उनको प्रयास राम्रै थियो । त्यस्तै अनुभव अन्त पनि गरे होलान् ।
सो आलेखमा उनले भनेका छन्, “ हाम्रोे देशका अधिकांश शिक्षकहरु अझै पनि डिजिटलरुपमा निरक्षर रहेका छन् । सबै शिक्षकहरुलाई शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने बनाउन र विद्यार्थीलाई पहुँचमा पु¥याउन धेरै काम गर्नुपर्ने अवश्यकता छ ।” उनको भनाइ यही साताको तालिममा हाइ काढ्ने शिक्षकप्रति लक्षित जस्तै लाग्छ ।
अवस्था पनि उही हो । धेरै सामुदायिक विद्यालयका शिक्षकलाई कम्प्युटर खोल्नसम्म आउँदैन । त्यसैबाट पढाउने, त्यसैमा कक्षा अभ्यास गर्न लगाउने, त्यसैमा नतिजा निकाल्ने, अनि त्यसैबाट पठाउने गर्न त यिनलाई ठूलो संघर्ष गर्नुपर्छ ।