भरतपुर, ७ असोज ।
जारी इण्डियन प्रिमियर लिग आइपिएलको आफ्नो पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति खेलिएको खेलमा उसले चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको हो । राजस्थाल रोयल्सले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो । चेन्नईका लागि ओपनरद्वय शेन वाट्सन र मुरली वियले क्रमशः ३३ र २१ रनको योगदान गरे भने फाफ डु प्लेसिसले ७२ रन बनाएर आउट भए । ३७ बलको सामना गरेका प्लेसिसले १ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै सेम कुरानले ६ बलमा १७ तथा केदार जाधवले १६ बलमा २२ रनको पारी खेले । सातौँ नम्बरमा ब्याटिङ गर्न पुगेका कप्तान महेन्द्र सिंह धोनी भने २९ रनमा नट आउट रहे । १७ बलको सामना गरेका उनले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । सुस्त सुरुवात गरेका धोनीले चेन्नईलाई लक्ष्यको पार भने लगाउन सकेनन् । चेन्नईको पारीमा राहुल तेवतियाले ३ तथा जोफरा आर्चर, श्रेयस गोपाल र टम कुरानले समान एक–एक विकेट हात पारे । पूरै खेलमा मात्रै कूल ३३ वटा छक्का प्रहार गरिएका थिए ।
यस अघि युएईको सारजाहमा चेन्नईका कप्तान धोनीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । कप्तान स्टिभ स्मीथ, सञ्जु सेमसन र जोफरा आर्चरको आक्रमक पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रनको योगफल तयार पारेको थियो । ४७ बलमा स्मीथले ६९ रन जोड्दा सेमसनले जम्मा ३२ बलमा ७४ रनको विस्फोटक पारी खेलेका थिए । सेमसनको पारीमा ९ छक्का र १ चौका सम्मिलित थिए भने स्मीथले चार चौका र चार छक्का प्रहार गरे । सेमसन म्यान अफ दि म्याच समेत घोषित भए । १९औँ ओभरमा कप्तान स्मीथ आउट भएपछि भने राजस्थानको रन गतिमा अंकुश लाग्ने अपेक्षा गरिएको थियो । तर तल्लो क्रममा ब्याटिङ गर्न पुगेका जोफरा आर्चरले आश्चर्यजनक ब्याटिङ गरेपछि राजस्थान उच्च योगफलसम्म पुगेको हो । जम्मा ८ बलको सामना गरेका उनले ४ पारीको अन्तिम ओभरमा लगातार ४ छक्का प्रहार गर्दै २७ रन बटुलेका थिए । निकै नाटकीय बनेको उक्त ओभरमा मात्रै राजस्थानले ३० रन चोर्न सफल भएको थियो । लुंगी निग्दीले उक्त ओभरमा दुई नो बल फालेका थिए । दुवै बललाई आर्चरले छक्काका लागि प्रहार गरेका थिए । चेन्नईका लागि सेम कुरानले ३ तथा दीपक चहर, निग्दी र पीयूष चावलाले १–१ विकेट चट्काएका थिए ।
जीतसँगै राजस्थानले दुई अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई हराएको चेन्नई भने दुई खेलबाट दुई अंक हात पार्दै तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा आज दुई पटकको आइपिएल विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो पहिलो खेल मुम्बई इण्डियन्ससँग खेल्दैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे अबु धाबीको शेख जायद मैदानमा सुरु हुँदैछ । यी दुई टोली बीच खेलिएका पछिल्ला पाँच खेलमा मुम्बईले तीन खेलमा बाजी मारेको छ भने कलकत्ताले दुई खेलमा जीत हात पारेको छ ।