भरतपुर, ६ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति खेलिएको खेलमा विराट कोहली नेतृत्वको रोयल चेलेन्जर्स बेंगलोर विजयी भएको छ । युएईको दुबईमा खेलिएको खेलमा उसले सनराइर्जस् हैदराबादलाई १० रनले हराएको हो । बेंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरबाद १९.४ ओभरमा जम्मा १५३ रनमा समेटियो । उसका लागि ओपनर जोनी बेयस्टोले सर्वाधिक ६१ रनको पारी खेलेका थिए । ४३ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनिष पाण्डेले ३४ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहन सकेन ।
हैदराबादका ७ ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछोई आउट भएका थिए । बायाँ हाते ओपनर डेभिड वार्नर भने बेयरस्टोले प्रहार गरेको बलले बलर उमेश यादवको हातमा छुँदै स्टम्प ढाल्न पुग्दा दुर्भाग्यपूर्ण रन आउट भएका थिए । एक समय ३ विकेटको क्षतिमा १२१ रन बनाएको हैदराबादले थप ३२ रन जोड्दा ७ विकेट गुमाएको हो । बेंगलोरका तर्फबाट स्पीनर युजवेन्द्र चहलले ३ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले जम्मा १८ रन खर्चिएका थिए । उनी म्यान अफ दी म्याच समेत घोषित भए । उनका साथै नवदीप शैनी र शिवम् दुवेले २–२ विकेट चट्काउँदा डेल स्टेनले पनि एक विकेट हात पारे ।
यस अघि पहिलो पारीमा टस जित्दै हैदरावादका कप्तान वार्नरले बेंगलोरलाई ब्याटिङको निम्तो दिएका थिए । बेंगलोरका लागि पहिलो खेल खेल्दै गरेका देवदत्त पडिकालको सुन्दर अर्धशतकीय पारीको मद्दतमा बेंगलोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६३ रनको योगफल तयार पारेको थियो । ४२ बलको सामना गरेका देवदत्तले ५६ रनको पारी खेलेका थिए । यस्तै, एबी डेभिल्लर्सले पनि ३० बलमा ५१ रन जोडेका थिए । बलिङततर्फ भने विजय शंकर, अभिषेक शर्मा र नटराजनले समान एक–एक विकेट लिए ।
जीतसँगै बेंगलोर अंक तालिकामा दुई अंक सहित शीर्ष स्थानमा पुगेको छ । आइपिएलमा मंगलबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे सारजाहमा सुरु हुनेछ ।