विप्लव काफ्ले
भरतपुर, वैशाख २८ गते ।
बिहीबार भरतपुरस्थित कांग्रेस–माओवादी केन्द्रको संयुक्त बृहत चुनावी सभाको मञ्चमा सबैभन्दा बढी चकचक दिनेश कोइरालाको थियो । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दर्ता गराएको भोलिपल्टै पार्टी सभापति देउवाले बलजफ्ती उम्मेद्वारी फिर्ता गराएका कोइराला देउवासँग प्रत्यक्ष भेटमा गुनासो पोख्ने मुडमा थिए ।
देउवाले मञ्चका पछाडि बसेका कोइरालालाई बोलाए । उनी देउवा नजिकैको कुर्चीमा बसे । देउवाले उनलाई केही भनिरहेका थिए । “संयुक्त गठबन्धनलाई सघाऊ, तिम्रो बारेमा म सोचुँला”, हाउभाउ हेर्दा यस्तै भनिरहे झैं लाग्थ्यो । कोइराला देउवाको भनाइमा केही असहमतजस्ता देखिन्थे वा केही स्पष्ट हुन चाहेजस्तो दृश्य मञ्चमा देखियो ।
नजिकै बसेका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ संयुक्त गठबन्धनलाई जिताउन दिनेशको साथ खोजेजस्तै देखिन्थे । त्यसो त दिनेश कोइराला मेयर पदमा माओवादी नेता रेणु दाहाल र उपमेयरमा कांग्रेस नेतृ पार्वती शाहलाई भोट माग्दै केही कोणसभामा सहभागी भइसकेका थिए ।
माओवादी केन्द्रका पार्टी अध्यक्ष प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँड, माओवादी नेता अमिक शेरचन मञ्चमा बोल्न जानेबित्तिकै देउवा छेउको कुर्सी खाली भएलगत्तै पछाडि मञ्चमा रहेका कोइराला देउवा नजिक आइपुग्थे । उनले देउवालाई केही कुरा भने । देउवाले हुन्छ भन्ने भावमा मुन्टोमात्रै हल्लाइराखे । कोइराला निरन्तर बोलिरहे हात हल्लाउँदै ।
कांग्रेस सभापति श्रेष्ठ कार्यक्रम समापन गर्दै थिए । सोहीबेला मञ्चकै पछाडीपट्टि कांग्रेस केन्द्रीय नेता, सांसद्, जिल्ला नेतासहितको बैठक बस्यो । सो बैठकमा दिनेश कोइराला देउवाको प्रतिबद्धता सबैको सामु भन्न आग्रह गरेझैं दृश्य देखिन्थ्यो ।
स्रोतका अनुसार कांग्रेस माओवादीले उठाएका साझा उम्मेद्वारले नजिते माओवादी र कांग्रेसका सत्ता गठबन्धनमा नकारात्मक प्रभाव पर्ने भन्दै केन्द्रको निर्णय कार्यान्वयन गराउन लाग्ने सबै सहमत भएका छन् । मञ्चबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा नेता दिनेश कोइरालालाई सम्झाउँदै भने, “दुई पार्टीको रणनैतिक साझेदारीका निम्ति तपाईंले गरेको त्याग खेर जाँदैन, तपाईको पार्टीले पनि सम्झने छ, म पनि सक्दो सहयोग गर्नेछु । दिनेश भाइ तपाईं त युवा नै हुुनुहुन्छ, युवा नेताका रुपमा तपाईं लोकप्रिय हुनुहुन्छ । यो त्यागले तपाईंको हाइट घटाउँदैन, बरु बढाउँछ ।”
फोटोहरुः प्रविन बराल र विनोदबाबु रिजाल