भरतपुर, ५ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ६५ हजार २७६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौंमा ५३८ जना संक्रमित थपिएका छन् । अन्य जिल्लाहरूमा मोरङमा १०७, भक्तपुरमा ७४, ललितपुरमा ६२ र मकवानपुरमा ३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा १८, कास्कीमा १८ र नवलपरासीमा २४ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार चितवन जिल्लामा भने पछिल्लो २४ घण्टामा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।
देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १७ हजार ६११ रहेको छ । सक्रिय संक्रमितमध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने बाँकी ८ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ७ हजार ४०३ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ५ हजार २१८ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ४ हजार ९६१ संक्रमित होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ५०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई १ हजार ५ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४७ हजार २३८ पुगेको छ । यो कूल संक्रमितको करिब ७२ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ११ हजार ३९६ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ७ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ८ वटा जिल्लामा अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ४२७ पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर ९ हजार ५३३ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ३१ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १९६ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २८ जनाको भेण्टिलेटरमा तथा १२८ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।