भरतपुर, ४ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ६४ हजार १२२ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौंमा ६०२ जना संक्रमित थपिएका छन् । त्यस्तै, चितवनमा नयाँ १५ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाहरूमा मोरङमा ६३, भक्तपुरमा १०१, ललितपुरमा ६४ र मकवानपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा ११३, कास्कीमा ३० र बाँकेमा ३२ जना संक्रमित थपिएका छन् ।
देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १७ हजार ४७८ रहेको छ । सक्रिय संक्रमितमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने बाँकी ८ हजार ४०७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ५ हजार ३३९ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ४ हजार ६०१ संक्रमित होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ५०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई ९६६ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४६ हजार २३३ पुगेको छ । यो कूल संक्रमितको करिब ७२ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म १० हजार ९४१ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ७ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ९ वटा जिल्लामा अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ४११ पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ९ लाख १४ हजार २९० वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर ९ हजार ४८४ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ३६ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १९० जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनाको भेण्टिलेटरमा तथा १२६ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।