भरतपुर, ३ असोज
इच्छाकामना गाउँपालिका–३, चैबुङकी १८ वर्षीया किशोरीको मृगौला खराब भएको छ । ४ वर्षदेखि उनी मेसिनको सहाराले शरीरको बिकार फाल्दै छिन् । अर्थात उनका दुवै मृगौलाले शरीरका बिकार छान्दैनन्, डायलाइसिस गर्नुपर्छ ।
सामान्य खेती किसानी गरेर जहान परिवार पाल्दै आएका तेजबहादुरलाई एक्कासि छोरीको जिउ सुन्निने र खुट्टा हिँड्नै नहुने गरी दुख्न थालेपछि हैरान भयो ।
१४ वर्षमै आफूखुसी बिहे गरेकी छोरी ज्वाइँ विदेश गएपछि माइतमै थिइन् । उपचारको जिम्मेवारी पनि तेजबहादुरमा नै थपियो । उपचारमा लागे । भरतपुरको नारायणी सामुदायिक अस्पताल लगेर विभिन्न चेकजाँच गराउँदा थाहा भयो–छोरी सर्मिलाको त दुवै मृगौला रोगले खाइसकेछ ।
अब उनलाई जोगाउने दुइटा उपाय बाँकी भए–नियमित डायलाइसिस वा मृगौला प्रत्यारोपण ।
दुवै विकल्प उनीहरुका लागि हैसियतभन्दा ज्यादा महँगो !
प्रत्यारोपणबारे अझै सोच्न गाह्रो भयो उनीहरुलाई । पहिलो रोजे । खेतीपाती गर्दै आएको जग्गा बेच्दै उपचार गराउन थाले । विदेश गएका ज्वाइँलाई पनि बीचैमा बोलाए । डायलाइसिस गर्दै आए, गर्दै आए ।
भरतपुरको पुरानो मेडिकल कलेजमा साताको दुईचोटि डायलाइसिस गर्दै आएकी सर्मिलाको माइती पक्षको अधिकांश चल सम्पत्ति सकिइसक्यो । स्याङ्जा घरतिर खासै केही छैन । कक्षा ६ पढ्दापढ्दै बिहे गरेकी सर्मिला माइतीकै संरक्षणमा छिन् ।
जसोतसो पछिल्ला केही महिनायता उनीहरुलाई डायलाइसिस गर्न पैसो लाग्दैन, सरकारले निःशुल्क गरिदिएको छ । तर, त्यसका लागि चाहिने औषधि र केही मसिना उपकरण किन्नुपर्छ । नियमित औषधि खानुपर्छ । भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्छ ।
तिनैको व्यथा थाहा पाएर भरतपुरका मनकारी कृष्णबहादुर गुरुङले फेसबुकबाटै हारगुहार गरे । उनले अभियान नै चलाए । त्यसलाई नाम दिए–‘मानिसको जीवन अमूल्य छ, बाँचौं र बचाऔँ अभियान ।’
साथीभाइ, इष्टमित्र, चिनेजानेका र नचिनेकालाई पनि सहयोगको अपील गरे । उनको पहलमा १ सय १९ जनाले सहयोग गरेर ११ लाख ९० हजार ५ रुपैयाँ संकलन भयो ।
शनिबार भरतपुरको तीनखोले गुम्बामा आयोजना गरिएको कार्यक्रममा मृगौला बिरामी सर्मिलालाई उक्त रकम हस्तान्तरण गरियो ।
“मैले गरेको आह्वानमा देशविदेशबाट स्वतःस्फूर्त सहयोग जुट्यो”, रकम संकलक गुरुङले भने, “सामाजिक सञ्जालको सदुपयोग यसरी गर्न सकिँदो रहेछ ।”
नेपालसँगै अष्ट्रेलिया, अमेरिका, कुवेत, हङकङ, अमेरिका, बेलायतलगायत विश्वका धेरै देशमा रहेका नेपालीहरुबाट सहयोग जुटेको उनले बताए ।

कृष्णबहादुर गुरुङ
त्यसमध्ये संस्था तथा व्यक्तिहरुबाट संकलित रकम पठाउने एक दाता हुन् सोमप्रसाद गुरुङ । हाल अष्ट्रेलिया रहेका गुरुङको पहलमा त्यहाँबाट दुई चरणमा गरी १ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ । पहिले ५१ हजार पठाएका गुरुङले चितवन समाज भिक्टोरियाका तर्फबाट संस्थागत सहयोग ५० हजार पठाए । उनी त्यस संस्थाका निवर्तमान अध्यक्ष हुन् । हाल भरतपुरका आत्मा रिजाल अध्यक्ष छन् । “चितवनमा विभिन्न सामाजिक काममा हामीले सहयोग गरिरहेका छौँ”, सोमप्रसाद गुरुङले भने, “समाजमा रहेका साथीहरु एकदमै मनकारी छन्, सहयोगमा एकजुट हुन्छौँ ।”
चितवन समाज भिक्टोरियाका तर्फबाट पत्रकार विनोदबाबु रिजालले मृगौला बिरामी सर्मिलालाई उक्त ५० हजार हस्तान्तरण गरे ।
कार्यक्रममा रकम बुझेपछि मृगौला बिरामीका बाबु तेजबहादुरले सबै दातालाई धन्यावाद भने । छोरीको स्वास्थ्य सुधारका लागि देशविदेशबाट गरेको सहयोगले आफूमा छोरी बचाउने बल थपिएको उनले बताए । अब उनलाई मृगौला प्रत्यारोपण गर्ने व्यक्तिको खोजी गर्ने उनले बताए । आमा लालमाया मृगौला दिन तयार भए पनि उनको परीक्षण गरिएको छैन ।
शरीरको अङ्ग प्रत्यारोपणका लागि एकै परिवारका सदस्य हुनुपर्ने कानुनी अनिवार्यता छ । कानुनी आवश्यकता पूरा भएपछि पनि अरु शारीरिक कुराहरु पनि मिल्नुपर्छ ।
तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले परिषदले यस्ता सामाजिक काम गरिरहने बताए । कोही पनि नागरिक उपचार नपाएर छटपटाइरहेको छ भने परिषदले पनि सहयोगका लागि पहल गर्ने उनले बताए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष अध्यक्ष गीताकुमारी गुरुङले आगामी दिनमा गाउँपालिका र आफ्नो तर्फबाट पनि सहयोग जुटाउन सघाउने प्रतिबद्धता व्यक्त गरिन् ।