भरतपुर, ३ आश्विन ।
वरिष्ठ आँखा रोग विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने भएको छ । आश्विन ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरूको नाम घोषणा गरिएको हो । उनीहरूलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् । यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ बाट डाक्टर सन्दुक रुइत विभूषित हुनेछन् ।
त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।
यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत हुने सूचना सार्वजनिक गरिएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवा श्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्द्धक बाट २, नेपाल सेवा प्रवीण बाट १, समाज सेवा रत्न बाट ११, परम पौरख भाष्कर बाट १२ तथा नेपाल प्रताप सुभूषण बाट २४ जना सम्मानित हुने भएका छन् । त्यसैगरी अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।
https://www.presidentofnepal.gov.np/?p=4308