एजेन्सी,
भरतपुर, २ आश्विन ।
अफगानिस्तानमा बालबालिकाको राष्ट्रिय परिचयपत्रमा आमाको नाम पनि उल्लेख हुने भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले कानूनमा हस्ताक्षर गरेसँगै व्यवहारिक रूपमा सो नियम लागू हुन लागेको बीबीसीले उल्लेख गरेको छ । महिला अधिकारकर्मीले लामो समयदेखि सो व्यवस्था हुनुपर्ने माग गर्दै दबाब दिँदै आएका थिए ।
अफ्गान बालबालिकाको परिचयपत्रमा यसअघि बाबुको मात्र नाम उल्लेख हुने गर्दथ्यो । अफगानिस्तानमा सार्वजनिक रूपमा महिलाको नाम प्रयोग गर्नु परम्परागत अपमानका रूपमा लिने गरिएको छ ।
तीन वर्षअघि सुरु भएको ‘ह्वेर इज माइ नेम’ नामक ह्यास ट्याग अभियानले पनि सरकारलाई यस्तो व्यवस्था गर्न बाध्य बनाएको अधिकारकर्मीहरूले उल्लेख गरेका छन् । झण्डै दुई दशकपछि अफगानिस्तानमा महिला अधिकारसम्बन्धी त्यस्तो व्यवस्था भएको हो ।