भरतपुर, २ आश्विन ।
शंकास्पद मृत्यु भएका शवको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै त्यस्ता संवेदनशीन विषयमा निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नागरिकलाई संक्रमण भए नभएको परीक्षण गर्नु र अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व रहेको प्रवक्ता शर्माले उल्लेख गरेका छन् । राज्यले नागरिकको आलोचनाबाट जोगिन उपायको खोजी गर्नुैभन्दा पनि कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकास गर्न आवश्यकता रहेको शर्माले बताए । सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शंंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गर्न झनै जरुरी रहेको भन्दै कांग्रेसले आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको पनि उल्लेख गरेको छ । मृत्युको ग्राफ दिनहुँ उकालो लागिरहेका बेला सरकारले यस्तो नीति अवलम्बन गरेको भन्दै उसले खेद प्रकट गरेको छ ।
शंकास्पद शवको परीक्षण नगर्ने नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाए पनि मृत्युको बढ्दो गति रोक्न नसघाउने शर्माले बताए । सरकारको शक्ति र रणनीति मृत्युको तथ्यांक लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने भनी शर्माले सरकारलाई प्रश्न समेत गरेका छन् ।