भरतपुर, २ असोज । चितवन प्रहरीले एक सय किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिकाको वडा नम्बर- ८ स्थित दवाडीचोक नजिकै पम्फा खोलाको किनारमा रहेको सडक छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले बेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए । बिहीबार उक्त गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएपछि शुक्रबार सार्वजनिक गरिएको हो ।
ना ३९ प २२५८ नम्बरको मोटरसाइकल प्रयोगगरी गाँजाको कारोबार गर्दै आएका दोर्जे तामाङ र पछाडि बसेका पदमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाँजाको कारोबारमा संलग्न केही व्यक्तिहरुको खोजी भइरहेको थापाले बताए । उनकाअनुसार गाँजाको कारोबारमा राप्ती–१२ का तीस वर्षीय बाबुराम थिङ नामका व्यक्तिको मूख्य संलग्नता रहेको छ ।
चितवनको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा गाँजाको खेती हुने गरेको छ । केही वर्षयता उक्त क्षेत्रमा गाँजा खेती बढ्दै गएको छ । डीएसपी थापाले सोही क्षेत्रमा उत्पादन भएको गाँजा बिक्रीका लागि कतै लैजान लागेको अनुमान गरिएको बताए । उनले उक्त क्षेत्रमा गाँजाको खेती हुन नदिन र भएका ठाउँमा नष्ट गर्ने लक्ष्य रहेको बताए ।
चेपाङ समुदायको बाहुल्य रहेको राप्तीको वडा नम्बर १२ र १३ मा मकै, कोदोलगायतका बालीको विकल्पमा गाँजा खेती गर्ने गरिएको छ । केही हप्ताअघि प्रहरीको एक टोली त्यहाँ पुगेर गाँजाको बीउ र भर्खरै रोपिएका विरुवाहरु नष्ट गरेको थियो ।
गाँजा खेती हुने गरेको क्षेत्रमा पुग्न पूर्व–पश्चिम राजमार्गबाट करिब २ घण्टा गाडी चढेर घण्टौं पैदल हिँड्नुपर्छ । प्रशासनको उपस्थिति कम रहेको फाइदा उठाउँदै यहाँ गाँजा खेतीगर्ने गिरोह सक्रिय बन्दै गएको छ ।