भरतपुर, २ आश्विन ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएको संख्या हालसम्म एकै दिनमा पुष्टि भएको सर्वाधिक संख्या हो । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५९३ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौंमा ६९८ जना संक्रमित थपिएका छन् । त्यस्तै, चितवनमा नयाँ १९१ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाहरूमा मोरङमा ११८, सुनसरीमा ५८, भक्तपुरमा ८२, ललितपुरमा ७९ र मकवानपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेतमा ११७, बारामा ७८, सप्तरीमा ४५, नवलपुरमा ३९, नवलपरासीमा ४१ र रुपन्देहीमा ८६ जना संक्रमित थपिएका छन् ।
देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १७ हजार ३८३ रहेको छ । सक्रिय संक्रमितमध्ये ९ हजार २५२ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने बाँकी ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ५ हजार २९६ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ४ हजार १९७ संक्रमित होम क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ५०१ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई ८७१ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४३ हजार ८२० पुगेको छ । यो कूल संक्रमितको करिब ७१ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ९ हजार ७७१ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ९ वटा जिल्लामा अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३९० पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार १७३ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर ११ हजार ४५८ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ३६ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १७३ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३४ जनाको भेण्टिलेटरमा तथा १२६ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।