सुदेश सत्याल नेपाली कविता साहित्यमा तगडा कविका रुपमा परिचय बनाउँदैछन् । सानै उमेरमा छन्दोबद्ध कवितामा विशेष उपस्थिति जनाइसकेका सत्याल राष्ट्रियस्तरको सम्मान पाइसकेका परिचित कवि हुन् । उनी अहिले देशव्यापी कविता सुनाउँदै हिड्छन् । उनी उदयीमान कवि सत्यालसँग लेखराम सापकोटाले गरेको छोटो कुराकानीः
१) तपाईंका कवितामा के शक्ति छ, स्रोता र पाठकहरु तपाईंका कविता भनेपछि हुरुक्कै हुन्छन् ?
यसको खास जवाफ पाउन स्रोताहरूलाई नै सोध्नुपर्ला, तथापि म कविता लेखन र वाचन दुवैलाई उत्तिकै महत्व दिनुपर्छ भन्ने मान्यता राख्छु । जहाँसम्म स्रोताहरु हुरुक्कै हुने कुरा छ, यी दुवैलाई आत्मसाथ गरिएकाले नै उहाँहरु मेरा कविताप्रति आकर्षित हुनुभएको हुनसक्छ ।
२) कविता लेखन क्रममा के कुरालाई ध्यान दिनुभएको हुन्छ ?
पहिलो कुरा त शास्त्रीय छन्दमा लेख्ने भएको हुँदा मैले छन्द मिलाएको छु वा कविता लेखेको छु भन्ने कुरामा बारम्बार सचेत हुने प्रयास गर्छु । जसरी मुक्तलयका कवितामा बिम्बहरू शक्तिशाली बनेर उभिन्छन्, त्यसैगरी छन्दमा पनि बिम्बहरूलाई नयाँ पन दिएर लेखूँ भन्ने सोँच्दछु । प्रायः छन्दका परिष्कृत काव्यमा तत्सम् वा क्लिष्ट शब्द अधिकतम प्रयोग गर्ने मान्यताबाट जोगिँदै प्राप्त भएसम्म जनजिब्रोका शब्दहरू मेरा छनोटमा पर्दछन् । सरल शब्दचयन नै कविताको मूल अङ्ग हो भन्ने मान्यता राखेर लेख्ने प्रयास गर्दछु ।
३) कविताबाहेक अन्य कुन–कुन विधामा पनि कलम चलाउनुभएको छ ?
विशेषतः मेरो रूचिको क्षेत्र कविता नै हो । साथै छिटपुटरूपमा गजल, मुक्तक र केही लेखहरूमा पनि मेरो कलम नचलेको होइन ।
४) समकालीन कविहरुका सिर्जना कत्तिको अध्ययन गर्नुभा’छ ?
वर्तमान कविताले कसरी पाइला चालिरहेको छ र ती डोबहरूमा के कस्ता रङ्गहरू पोतिएका छन् भन्ने जिज्ञासामा मेरो मन र मस्तिष्कका कानहरू सधैँ चनाखो हुने हुँदा देखे, भेटे र समयले भ्याएसम्म नेपाली समकालीन कविका कविताहरू नै मेरो अध्ययनको प्रमुख रोजाइमा पर्दछन् ।
५) तपाईंलाई मन पर्ने कृति र कृतिकार ?
कालिदासको ‘मेघदूत’ र ‘शाकुन्तल’, श्रीहर्षको ‘नैषधीयचरित’, देवकोटाको ‘शाकुन्तल’, लेखनाथको ‘ऋतुविचार’, घिमिरेको ‘गौरी’ र ‘राजेश्वरी’, पारिजातको ‘शिरीषको फूल’, दिनेश अधिकारीको ‘अतिरिक्त अभिलेख’, लगायत अन्य कृतिहरू पनि मेरा लागि प्रिय छन् ।
६) कवि र कविताको भविष्य के देख्नुहुन्छ ?
कवि र कविताको भविष्य आशालाग्दो देखिएको छ । कवि–कविबीचमा मात्र नभएर आम पाठकमा अहिले विद्युतीय गतिमा कविता तरङ्गित भएको छ । यसैगरी काव्यको माहोल फस्टाउँदै जाने हो भने कविता लेखरै पनि आत्मसम्मानका साथ कवि बाँच्न सक्ने सम्भवना देखिन्छ, जुन विगतमा असम्भवप्रायः थियो ।
७) समग्र नेपाली साहित्यको स्थिति कस्तो लाग्छ ?
समग्र नेपाली साहित्यको कुरा गर्दा पछिल्लो समयमा आख्यानप्रति बढी चासो बढेको पाइएपनि कविता, गजल, मुक्तक जस्ता विधाप्रतिको रूचि पनि कम मान्न सकिन्न । थिएटरहरूमा नाटक हेर्नेहरूको जमात पनि उत्तिकै छ । यात्रा निबन्धका कृतिहरू बजारमा आइरहेपनि निबन्धका पाठक तुलनात्मकरूपमा केही कम भएका हुन् कि जस्तो परिस्थिति देखिन्छ । कहिलेकाहीँ हृदयको कानले नसुनी समालोचना गर्दा कतिपय कृतिहरू भारी मारमा परेका छन् । मिडियामा बतासिएर हल्लाको खेती गर्ने संस्कतिले हलुँगो र गरुँगो कृतिमा यक्षप्रश्नहरू पनि तेर्सिएका छन् । यसै सेरोफेरोमा नेपाली साहित्यका पैतालाहरू अग्रसर छन् ।
८) तपाईँको जीवनमा घटेका अविष्मरणीय घटनाहरू केही छन्, जसले तपाईँको जीवनमा केही परिवर्तन भएको छ ?
मेरो कविता सङ्ग्रह ‘अन्तरिक्षको धर्ती’ प्रकाशनपूर्व हौसला र प्रेरणा दिने केही शुभचिन्तकहरू प्रकाशनपश्चात् मौन रहे त केहीले आलोचना पनि गरे, जसले मलाई लेखनमा थप ऊर्जा प्रदान गरेको छ ।
९) तपाईँले अध्ययन गर्नुभएका कृतिहरूमध्ये स्मरणयोग्य पाँच कृतिहरूको नाम बताइदिनुहोस् न ।
स्मरणयोग्य त धेरै नै छन् । तर, तपाईँले उत्कृष्ट लागेकामध्येको पनि टप फाइभ सोध्नुभएको होला । पाँच कृतिको नाम लिनुपर्दा ‘मेघदूत’, ‘शाकुन्तल’, ‘नैषधीयचरित’, ‘ऋतुविचार’ र ‘गौरी’ हुन् ।
१०) कविता लेखनमा क्रियाशील नयाँ साथीहरुलाई के सन्देश दिनुहुन्छ ?
वाहवाह र तालीको पछि नदौडी जीवन्तताका लागि सिर्जना गर्न जरुरी हुन्छ । छिट्टै ठूलो शिखर चुम्ने महत्वाकांक्षाबाट मुक्त भई निरन्तर साधना गर्नु वेश हो । सस्तो लोकप्रियताका लागि फेसबुके भित्ताहरूमा मात्र नअल्झिँदै अग्रज स्रष्टाहरूको सिर्जनात्मक उचाइलाई मनन् गर्नु नवसाधकको लागि अत्यावश्यक हुन्छ ।