लेखराम सापकोटा
भरतपुर, ३१ असार ।
नारायणी किनारको गैंडाकोट क्षेत्र शुक्रबार साँझ गजलमय बन्यो । प्रसिद्ध गजलकार गोविन्दराज विनोदी र धनराज गिरीका गजल सुन्न उपस्थित दर्जनौं गजलपारखी कफी पिउँदै पाका गजलकारका पाका गजल सुनेर रमाए ।
‘दुई आँखी भौं त तयार छन् तरबार पो किन चाहियो, तिमी आफै मालिक भै गयौ सरकार पो किन चाहियो…’
नेपाली गजलका पिता मोतिराम भट्टको शेरबाट भानुभक्त सापकोटाले कफी र काफियाको शुरुआत गरे । गैंडाकोटको पुरानो साहित्यिक संस्था सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई गजलकार डा. घनश्याम परिश्रमीले उद्घाटन गरे ।
गजल नगरी गैंडाकोटमा गजलको माहोल विस्तार गर्दै कफी र काफिया कार्यक्रमको अभियान थाल्नु निकै महत्वपूर्ण रहेकोे बताए । आफ्नो गजल सुनाएर उद्घाटन गरेका परिश्रमीले पहिलो अंकमा यस क्षेत्रका पाका गजलकारलाई उभ्याउनु स्रस्टा र गजल साहित्य दुबैको सम्मान भएको बताए । सयपत्री माला र खादामा सजिएका विनोदी र गिरिले पहिलो चरणमा तिन तिन गजल सुनाए ।
गजल साहित्यमा यस क्षेत्रकै सबैभन्दा पाका मानिने बिनोदीले आयोजकलाई सम्बोधन गर्दै गजल सुनाउन सुरु गरे,
आनन्दका फूल फुलाउँदै जाऊ
हे जिन्दगी सिर्जन गाउँदै जाऊ ।।
लगातार तीन गजल सुनाएपछि अर्का स्रस्टा धनराज गिरी प्रस्तुत भए । प्रायः ठट्यौली पारामा प्रस्तुत हुने गिरीले यहाँको माहोललाई सुरुमै आफ्नो बसमा पारे । नारीलाई सम्मान गर्ने गिरीले पहिलो गजलबाट नारीलाई नै सम्बोधन गरे,
दुनियाँमा नारी भन्दा छैन कोही वीर
ममताको खानी देख्दा झुक्छ मेरो शीर ।।
दोस्रो चरणमा पनि दुबै स्रस्टाले तीन–तीन गजल सुनाए । दुबै स्रस्टाले गजल गेयात्मकरूपमा प्रस्तुत गरेका थिए । ६ गजल सुनाइसकेर गोविन्दराज विनोदीको राजेश पायल राईको आवाजमा रेकर्ड भएको गजल ‘पिरतिको नाउँमा सधैं धोका खाई हिँडेको मान्छे म…’ लाई स्थानीय गायक निर्दोष जीवनले आवाज भरे । अन्तिममा दुबैले एक–एक गजल सुनाएर ७–७ गजल सुनाउने आयोजको तालिकालाई पूर्णता दिए ।
युगल गजल वाचन कार्यक्रम कफी र काफिया अब अभियानकै रूपमा नवलपरासीमा आयोजना हुनेछ । नवलपरासीमा रहेर गजल साहित्यमा कलम चलाइरहेका स्रस्टा सँगसँगै छिमेकी जिलाका स्रस्टालाई पनि पालैपालो गजल वाचनमा उभ्याउने तयारी गरिरहेको अध्यक्ष सूर्यप्रकाश भुसालले बताए ।