विप्लव काफ्ले
भरतपुर, ३१ असार ।
नारायणी यातायात व्यवसायी संघले दुर्घटनामा परेर सवारी तथा मानवीय क्षतिवापत २२ करोड वितरण गरिएको जनाएको छ । नारायणी यातायातअन्तर्गत सञ्चालित सवारी दुर्घटनामा परेर मानिसको मृत्यु भएको तथा घाइतेको उपचारमा संघले १५ करोड खर्च भएको जनाएको छ ।
जनदायित्वअन्तर्गत मानवीय क्षति दिदै आएको छ । यस्तै दुर्घटनामा क्षति पुगेका सवारी मर्मतका लागि ७ करोड धनदायित्वअन्तर्गत खर्च भएको जनाएको छ । संघले चालु आर्थिक वर्षमा ३१ करोड बजेट छुट्याएको थियो । व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले दुर्घटनामा हुने क्षतिमा अधिकतम राहत दिने गरेको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले २०६४ सालदेखि दुर्घटना हित कोष कार्यक्रम सञ्चालनमा ल्याई व्यवसायी तथा यात्रुलाई राहत दिने गरेको बताए ।
संघले पदाधिकारी सल्लाहकार कर्मचारी तथा सवारी धनीहरु बिरामी परेमा १ लाखको उपचार विमा र दुर्घटनामा मृत्यु भएमा ५ लाखसम्मको बीमा रकम उपल्ब्ध गराउने बताए । २०७४ साउन १ गतेदेखि लागू हुने गरी पदाधिकारी, सल्लाहकार र कर्मचारी तथा सवारी धनीहरु कालगतीले वा दुर्घटनामा परी मृत्यु भएमा क्षतिपूर्ति स्वरुप १ लाख दिने व्यवस्था गरिएको संघले जनाएको छ । सवारी मजदुरको थप ३ लाखको दुर्घटना बीमा संघमार्फत गरिएको बताए ।
त्यस्तै बिरामी कुरुवाको रकमसमेत वृद्धि गरी दैनिक ७ सय रुपैयाँ बनाइएको जानकारी दिए । नारायणी यातायात व्यवसायी संघ भरतपुरका प्रमुख तथा सदस्यसचिव शंकर गिरीले धनदायित्वतर्फ पनि कूल मूल्यांकनमा १० प्रतिशत मात्र एक्सेस कट्टा गरी व्यवसायीलाई अधिकतम राहत दिने प्रयास गरिएको बताए । अघिल्ला वर्षहरुमा आरक्ष तथा निकुञ्जमा रहेका वन्यजन्तुलाई सवारीले ठक्कर दिएका सवारी धनी आफैले खर्च गरी मुद्धा किनारा गर्नुपर्ने अवस्था रहेका थियो । अबदेखि अदालतले तोकेका जरिवाना संघलेनै व्यहोर्ने र सबै प्रशासनिक प्रक्रियामा समेत सघाउने व्यवस्था भएको गिरीले जानकारी दिए ।
संघले विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पनि हातेमालो गर्दै आएको र भवन निमार्णका लागि आर्थिक सहयोगसमेत गर्ने गरेको छ । दुर्घटना न्यूनीकरणका लागी ट्राफिकसँग मिलेर चालक, सहचालकहरुलाई सचेतना कार्यक्रमसमेत प्रदान गर्दै आएको जनाएको छ ।
समितिले विभिन्न विपत्ति तथा दुर्घटनामा परेकाहरुको उद्धारका लागि २ वटा टाटा सुमो शवबहान र एम्बुलेन्सबाट निःशुल्क सेवा प्रदान गरेको छ । २०३६ सालमा हेटौंडामा दर्ता भई स्थापना भएको संघमा अहिलेसम्म धेरै यातायात व्यवसायी आबद्ध छन् ।
यो संघले देशका सबै क्षेत्रमा आफ्ना सवारीसाधन सञ्चालनमा ल्याएको छ । दिवाकालीन र रात्रिकालीन सेवादेखि ट्रक, पेट्रोल ढुवानी ट्यांकर, मिनी ट्रक, ट्रिपर, कन्टेनरलगायत ८ हजारभन्दा बढी बिभिन्न प्रकृतिका सवारीसाधन सञ्चालन गरेको छ । संघले आर्थिक वर्ष २०७४÷७५ का लागी ३८ करोडको बजेट तय गरेको जनाएको छ ।