रत्ननगर, ३१ असार ।
कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३७ करोड ५८ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । २० वर्षपछि भएको स्थानीय निर्वाचनपछि पहिलो नगर सभाबाट शुक्रबार आर्थिक वर्ष २०७४÷७५ का लागि सो बजेट प्रस्तुत गरिएको हो ।
नगर प्रमुख (मेयर) खुमनारायण श्रेष्ठले प्रस्तुत गरेको नीति, बजेट तथा कार्यक्रम सभाले सर्वसम्मत पारित गरेको जानकारी दिइयो । हालै मात्र जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर मिलाई स्थापना भएको सो नगरपालिकाको आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर र अन्य कर दस्तुरहरुबाट आम्दानीहुने रकम प्रस्तुत गरिएका छन् ।
सभाले चालु खर्चतर्फ ३ करोड, सशर्त खर्च विषयगतको लागि ११ करोड २२ लाख ५७ हजार, पुँजीगत खर्च २३ करोड ३५ लाख ९३ हजार रुपैया विनियोजन गरेको छ । पुँजीगत खर्चअन्तर्गत कन्टिजेन्सी, मेसिनरी ग्रेडर रोलर खरिद, भैपरी र संघीय संरचना पूर्वाधार, विषय क्षेत्रगत खर्च, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा वित्तीय व्यवस्थापन खर्च छन् ।
मेयर श्रेष्ठले ज्येष्ठ नागरिक तथा असहायलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रमा बैंकको पहुँच भएकोले बैंकबाटै रकम उपलब्ध गराइने र शक्तिखोर तथा सिद्धिमा बैंकको पहँुच नभएकोले घुम्ती बैंक प्रणालीबाट सहजरुपमा सो रकम उपलब्ध गराइने बताए । शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयको लागि नगरपालिका लागिपरेको उनले बताए ।
त्यस्तै गैरीबारी बन्ने कृषि विश्वविद्यालयको स्थापनाको लागि पनि समन्वयकारी भूमिका खेल्न नगरपालिका लागिपरेको उनले बताए ।
टाँडी–जुटपानी–शक्तिखोर–हुग्दी सडक निर्माणको लागि आफूले प्राथमिकताका साथ काम अगाडि बढाउने प्रतिबद्धता उनले जनाए । बकुलहर–जुटपानी–शक्तिखोर–सिद्धिको बहुवर्षीय योजनाअन्तर्गतको सडक योजनासमेत प्राथमिकताका साथ निर्माण गर्न पहल गर्ने उनले बताए ।