भरतपुर, ३१ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ५८ हजार ३२७ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौं जिल्लामा ६५२ जना संक्रमित थपिएका छन् । अन्य जिल्लाहरूमा सुनसरीमा ७०, सिराहामा २७४, ललितपुरमा ६०, भक्तपुरमा २५ र मकवानपुरमा ४९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १६ हजार २४२ रहेको छ ।
सक्रिय संक्रमितमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा बसेका छने भने बाँकी ७ हजार ७०१ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ७ हजार ८२० जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ४ हजार ५९५ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ३ हजार ९०० संक्रमित होम क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ५११ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई १०६८ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४१ हजार ७०६ पुगेको छ । यो कूल संक्रमितको करिब ७१.५ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ८ हजार ८६४ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ८ वटा जिल्लामा अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३७९ पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर १० हजार ४९४ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर २६ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १७३ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २५ जनाको भेण्टिलेटरमा तथा १२३ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।