भरतपुर, ३० भदौ ।
अंग्रेजी भाषामा पारिभाषिक शब्दावली छ, अनसंग हिरो । यो शब्दावलीको अर्थ ‘नचिनिएका नायक’ भन्ने हुन्छ । यसले यस्ता व्यक्तिहरूलाई समेट्छ जसले बडो मिहिनेतका साथ आफ्नो भूमिका निभाउँछन्, तर काम गरे बापत कहिल्यै पनि सम्मान पाउँदैनन् । यस्ता व्यक्ति बिनाको समाजका बारेमा साँच्चै नै कल्पना गर्न सकिँदैन । उनीहरू सम्मान र प्रशंसाका असली हकदार हुन्छन् तर उनीहरूले गरेको उत्कृष्ट कामलाई समाज सधैं नजरअन्दाज गरिदिएको पाइन्छ । उसले गरेका कामलाई समाजमा बिरलै मात्रै मान्यता दिने गरेको पाइन्छ ।
कोरोना महामारीका कारण गत चैत महिनाको ११ गते यता देश लकडाउनमा छ । सरकारले पहिलो चरणको देशव्यापी बन्दाबन्दी श्रावण ६ गते हटाएको थियो । त्यसयता भाइरसको संक्रमण फैलने क्रम बढ्न थालेपछि स्थानीय प्रशासनले नै विभिन्न ठाउँमा निषेधाज्ञा ताथ बन्दाबन्दी थपेका छन् । त्यसकारण पाँच महिनाभन्दा बढी समयदेखि हरेक क्षेत्र प्रभावित बनेका छन् । विद्यार्थीहरू शैक्षिक संस्था पुगी पढ्न पाएका छैनन् । शिक्षक तथा प्राध्यापकले पढाउन पाएका छैनन् । अन्य पेशा तथा व्यवसायमा आबद्ध मानिसहरूले पनि आफ्नो कामलाई निरन्तरता दिन पाएका छैनन् ।
तर स्वास्थ्यकर्मी तथा अग्रभागमा रहेर काम गरिरहेकाहरूलाई भने आराम गर्ने समय समेत मिलेको छैन । ट्रक चालकहरू पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेका छन् । हाल राजमार्गमा यात्रुवाहक सवारी साधन गुडेका छैनन् । अत्यावश्यक सामग्री डुवानी गर्ने सवारी साधन मात्रै चलेका छन् । तर त्यही सवारी साधन चलाउने चालकहरूलाई भने समाजले हेयको नजरले हेर्ने गरेको छ । महामारीको समयमा आफ्नो ज्यान नै बाजीमा राखी अत्यावश्यक सामनको ढुवानी गर्ने उनीहरूको सही मूल्यांकन भने अझै पनि हुन सकेको छैन ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं ११ का २४ वर्षीय वीरेन्द्र वि.क.ले करिब ३ वर्षदेखि ट्रक चलाउँदै आएका छन् । चैत ११ देखि विभिन्न चरणमा बन्दाबन्दी हुँदा पनि उनी अत्यावश्यक सामग्रीको ढुवानीमा खटिइरहे । सर्वसाधारणसम्म खाद्यान्न, औषधि तथा अन्य आवश्यक सामन पु¥याउने काम गर्दा पनि ट्रक चालकले बिरलै अरुको कदर पाउने गरेको वीरेन्द्र बताउँछन् । “लकडाउनको अवधिमा मात्र होइन, त्योभन्दा अगाडि पनि सामनको ढुवानी हामीले गरेकै हौं । ड्राइभर दाजुभाइले दिनुभएको योगदानलाई प्रशंसा गर्नुपर्ने हो”, उनले गुनासो पोख्दै भने, “अहँ, तर त्यस्तो हुँदैन ।” चैतयता मात्रै उनी सामन ढुवानी गर्ने क्रममा जुम्ला, जाजरकोट, सल्यान, मुगु, लगायतका ठाउँ पुगिसकेका छन् । वीरेन्द्रको परिवारमा आमा र भाइ छन् । वीरेन्द्रको विवाह पनि भएको छैन । महामारीको समयमा अति आवश्यक कुरा मात्रै बोक्न पाइने भएकाले वीरेन्द्रले पहिलेको जस्तो नियमित गाडी हाँक्न परेको छैन । तर जिम्मेवारी भने थप बढेर गएको उनी सुनाउँछन् ।
“गाडीमा हिँड्दा सेनिटाइजर बोक्ने गरेको छु । कोहीसँग मुखामुख गरेर बोल्नुपर्ने अवस्थामा मास्क लगाउँछु”, वीरेन्द्रले अगाडि भने, “घरमा त आमाले यस्तो बेला कतै नजा, घरै बस् भन्नुहुन्छ । आफ्नो पेशा नै यही भएकाले छोड्न मन लागेन ।” जोखिमको बेला घर परिवारको माया लागे पनि काम गर्नै पर्ने बाध्यता रहेको उनले सुनाए । अवस्था जति नै खराब भएपनि गाडी कुदाउँदा आफूले त्यसैमा खुशी पाउने गरको उनी बताउँछन् । “गाडी चलाउँदा यो नै रमाइलो घटना भनेर सम्झनामा चाहिँ छैन । तर गाडी चलाइरहँदा त्यसैमा नै रमाइलो लाग्ने गर्छ”, वीरेन्द्रले थपे । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण शहरबाट गाउँ फर्कन चाहनेले गाडी पाएका थिएनन् । कतिपय मानिसहरू त काठमाडौंदेखि महिनादिन लगाएर पैदल नै घर फर्कँदै थिए । “त्यस्तो बेला बाटामा हिँडिरहेका मान्छेलाई ट्रकमा नै राखेर गन्तव्यसम्म पु¥याइदिऊँ जस्तो लाग्थ्यो । तर प्रमुख नाका र चोकमा खटिएका प्रहरीहरूले यात्रु बोक्न दिँदैनथे । मन भारी बनाइ अगाडि बढ्थेँ”, उनले सुनाए ।
वीरेन्द्रको गन्तव्य अधिकांश समय कर्णाली प्रदेशकै विकट जिल्लाहरू हुने गर्छन् । देशको संघीय राजधानी काठमाडौंबाट टाढा रहेको कर्णाली प्रदेश विकासको मामला पनि टाढै छाडिएको भान हुनेगर्छ । कर्णाली प्रदेश कति अपहेलित छ भन्ने कुरा कर्णाली राजमार्गको अवस्था देखेरै प्रष्ट हुन्छ । “हुन त देशको पूर्वपश्चिम महेन्द्र राजमार्गको अवस्था नै कतिपय ठाउँमा सन्तोष गर्न लायकको छैन । कर्णाली राजमार्ग त परको कुरा भयो । ज्यान नै बाजी राखेर गाडी चलाउनुपर्छ”, वीरेन्द्रले आफ्नो असन्तुष्टि पोखे ।
वीरेन्द्रले केही समय अघिदेखि आफ्नो युट्युब च्यानल पनि सञ्चालनमा ल्याएका छन् । उनको च्यानलमा अपलोड हुने भिडियोको विषयवस्तु तिनै पहाडका असजिला, नागबेली तथा साँघुरा बाटाघाटा हुने गरेका छन् । ट्रक चालकको दैनिकी लगायतका विषयवस्तुलाई पनि उनले भिडियोमा समेट्ने गरेका छन् । जुँगे दाइ नामक उनको च्यानललाई अहिले ७० हजार बढीले सब्स्क्राइब गरिसकेका छन् । “ड्राइभर भनेर चिनिँदा धेरैले राम्रो नजरले हेर्दैनन् । तर युटुबमा मेरा भिडियोहरू हेरेर चिनेकाहरूले ‘तिमी फलानो होइनौँ?’ भनेर सोध्दा खुशी लाग्छ”, उनले भने ।