विप्लव काफ्ले
भरतपुर, ३१ असार ।
घटना–१ :
भरतपुरमा मागी विवाह गरेर बच्चा जन्मिएपछि विदेश पुगेका युवाको श्रीमतीसँग राम्रै सम्बन्ध थियो । तर, स्वदेश फर्किएपछि श्रीमतीको करबलले परिवारसँग अंशवण्डा गरी बसे । तर, उनीकी श्रीमतीले आफ्नो नाममा अंशवण्डा गरिदिनुप¥यो, म सम्बन्धविच्छेद गर्छु भन्दै उनीबाट टाढिइन् ।
घटना–२ :
श्रीमतीको मृत्युपछि दोस्रो विवाह गरेका चैनपुरका एक जोडीले सुरुमा जन्मेका दुई बालबच्चाको हेरचाहमा ध्यान दिएनन् । सधैं घरझगडा पर्ने सो जोडीले पहिलो श्रीमतीबाट जन्मेका बच्चको पालनपोषण र रेखदेख नगरेपछि स्थानीयको अगुवाइमा उनीहरुको जग्गा रोक्का गराइएको छ । ऋण तिर्न भन्दै जग्गा बेच्न खोजिएपछि बालबच्चा बिचल्लीमा नपरुन् भनेर जिल्ला अदालतमा दायर सो मुद्धा विचाराधीन छ ।
माथिका प्रतिनिधि घटना हुन् । तथ्यांकले भन्छ, चितवनमा लैङ्गिक हिंसा बढी हुने गरेका छन् । त्यसमा पनि बढी मात्रामा महिला तथा बालिका पीडित भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमार्फत हेरिएका मुद्दामध्ये एक सयभन्दा बढी मुद्दामा महिला पीडित छन् । सरकारी वकिल कार्यालयमार्फत यो वर्ष हेरिएका विभिन्न शीर्षकका मुद्दामध्ये १ सय मुद्दा फछ्र्यौट भएका छन् । ८ सय ९१ मुद्दा बाँकी छन् । यो वर्ष ७ सय ८२ नयाँ मुद्दा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०७३÷७४ मा घरेलु हिंसाका २ सय २९ उजुरी परेका छन् । पछिल्लो ६ महिनामा ८ बालिका बलात्कारका घटना भएका छन् भने ८ वटा नै बालिका बलात्कारको प्रयास भएका छन् । केही पुरुष महिलाबाट प्रताडित भएका छन् । श्रीमान् र श्रीमतीको सम्बन्ध बिग्रदा बालबालिका बढी समस्यामा पर्ने गरेका छन् ।
“लैङ्गिक हिंसामा सबैभन्दा बढी महिला र बालिका नै परेका छन्”, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले भने, “तथ्यांक भयावह छ ।” महिलामाथि हुने गरेको हिंसामा पनि यौनजन्य हिंसा बढी रहेको उनले बताए ।
जबरजस्ती करणीका घटनामा बालिका र जबरजस्ती करणी प्रयासमा वयस्क महिला पर्ने गरेका छन् । अधिकारीका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३१ वटा जबरजस्ती करणीका मुद्दा वकिल कार्यालयमार्फत हेरिएका छन् । गतवर्ष १० वटामात्रै यस्ता घटना परेका थिए । बोक्सीको आरोपमा १ मुद्धा, बहुविवाहका १४ मुद्दा परेका थिए ।
राप्ती–८ की महिला अधिकारकर्मी माया सापकोटा अविश्वासको कारणले धेरै परिवारको सम्बन्ध बिग्रिने गरेको बताउँछिन् । “समाजमा थुप्रै हिंसाजन्य घटना हुने क्रम रोकिएको छैन”, उनले भनिन्, “बालबच्चानै जोखिममा पर्ने गरी परिवारको सम्बन्ध बिग्रनु राम्रो होइन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सचेतनामूलक अभियान चलाइनुपर्ने बताए । महिलता तथा बालबालिका कार्यालय चितवनले शुक्रबार भरतपुरमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले हिंसाका बहुआयामको विश्लेषण गरी न्यूनीकरणका अभियान चलाउनुपर्नेमा जोड दिए । हिंसालाई ढाकछोपभन्दा कानूनी उपचार खोज्ने संस्कारको विकास गर्नुपर्ने बताए ।
“चेतनशील समाज भएपनि हिंसाको घटनामा कमी नआउनु दुखद छ”, उनले भने, “लुकेर रहेका हिंसा उजागर गर्नुपर्छ, कानूनी उपचार खोज्नुपर्छ ।” बिहे गरेर पनि विवाह दर्ता नगर्ने, बालबच्चाको जन्मदर्ता नागरिकता नबनाइदिने जस्ता समस्याले हिंसालाई प्रशय दिने गरेको उनको भनाइ छ । लैङ्गिक हिंसाविरुद्ध कानूनी उपचार खोज्न सम्बन्धित स्थानीय तह, नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत, महिला आयोगमा उजुरी दिन सकिन्छ । सरकारले हिंसा नियन्त्रण सम्बन्धित ऐन समेत जारी गरिसकेको छ ।
जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली अन्याय सहेर बस्ने प्रवृत्ति हटाउन सके हिंसाजन्य घटनामा कमी आउने बताउँछन् । “ऐनले सकेसम्म सम्बन्ध सुधार गर्न जोड दिएको छ”, उनले भने, “असम्भव भए कानूनी उपचारको व्यवस्था छ, समाजका कानूनी प्रावधानबारे जानकारी दिनुपर्ने अवस्था कायमै छ ।” गाउँशहरमा रहेका क्रियाशील संघसंस्थाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सञ्जाल विस्तार गर्न सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले प्रहरीका महिला सेलमा उजुरी गर्न सकिने बताए । यो आर्थिक वर्षमा मात्रै हिंसामा परेका ३२ महिला, २३ बालक, २५ बालिकाको उद्धार गरिएको जानकारी दिए । चितवनबाट हराएका ३ सय ७५ जना महिला तथा बालबालिका मध्ये २ सय ४० जनालाई फेला पारिएको छ ।
कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाट, महिला अधिकारकर्मी मीना खरेललगायतले लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेत समाजको निर्माण अपरिहार्य रहेकोमा जोड दिए । सोही अवसरमा महिला विकास कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका सहकारीमध्येबाट महिला तथा बालबालिका विभागले राष्ट्रियस्तरमा सम्मान पाएकोे सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थालाई महिला तथा बालबालिका कार्यालय चितवनले सम्मान गरेको छ ।
यस्तै व्यावसायिक लहर ल्याउन उत्कृष्ट काम गरेको भन्दै मुस्कान महिला विकास बचत तथा ऋण सहकारी संस्था र महिला तथा सामाजिक शशक्तिकरणका उत्कृष्ट काम गरेको भन्दै जयमालिका महिला विकास बचत तथा ऋण सहकारी संस्थालाई प्रशंसापत्र प्रदान गरेको छ । कार्यक्रम महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेलको अध्यक्षतामा भएको हो ।