काठमाडौँ, ३० भदौ
कोभिड महामारी चलिरहे पनि योसँगै जनजीवन सामान्य गर्दै जाने रणनीतिमा सरकार देखिएको छ । विस्तारै सबै क्षेत्र खुला गर्दै जाने तयारीमा सरकार छ ।
सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
साथै, संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।
यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर, मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज १ देखि नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।
यस्तै सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।