भरतपुर, ३० भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७८८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौं जिल्लामा ५५५ जना संक्रमित थपिएका छन् । त्यसैगरी मोरङमा १११, सिराहामा १६२, चितवनमा ३७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१ तथा मकवानपुरमा ८७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १५ हजार ७७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई १०६२ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४० हजार ६३८ पुगेको छ । यो कूल संक्रमितको करिब ७१.५ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ८ हजार ३९१ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ७ वटा जिल्लामा अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा ५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २५० जना क्वारेन्टाइनमा छन् भने १५ हजार ७७९ जना आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा मात्रै ४ हजार २५२ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९०० जना होम आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर १० हजार १७५ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर २८ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १७४ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २५ जनाको भेण्टिलेटरमा तथा १२३ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।