ध्रुवराज खनाल
रत्ननगर, ३१ असार ।
रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निर्वाचित भएका छन् । सुरुमा दुई जनाको उम्मेद्वारी परेपनि अन्तिम समयमा अर्का उम्मेद्वार यदुनाथ भट्टले उम्मेद्वारी फिर्ता लिएपछि रेग्मी निर्विरोध निर्वाचित भएका हुन् ।
रेग्मी संस्थापन पक्षबाट अध्यक्षका उम्मेद्वार हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका व्यवसायी मिलेर संस्थापन पक्ष बनाएका थिए ।
संस्थापन पक्षमा अन्य पदाधिकारीविरुद्ध कसैको उम्मेद्वारी नपरेपछि शुक्रबार नै सबै निर्विरोध भइसकेका थिए । वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, उपाध्यक्षहरु वाणिज्यतर्फ विनोद पोखरेल, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट, वस्तुगततर्फ भीमनारायण श्रेष्ठ र एशोसियटतर्फ शंकर गिरी सर्वसम्मत भएका निर्वाचन समितिले जनाएको छ । महासचिवमा नीराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी पनि सर्वसम्मत चयन भएका छन् ।
वाणिज्यतर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य, माधवप्रसाद पौडेल, सोहेन्द्रराज खरेल, कविन घिमिरे, सीताराम भट्टराई, रामशरण नेपाल, ईश्वरीप्रसाद अर्याल र सुन्दरमणि सुवेदी निर्विरोध भएका छन् । यस्तै उद्योगतर्फ नीरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, नीरञ्जन थापा, हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मीना उप्रेती निर्विरोध भएका निर्वाचन समिति संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । एशोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठनतर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् ।
संघले आगामी अधिवेशनबाट लागू हुने गरी विधान संशोधन गरेर अधिवेशन गराएको छ । संशोधित विधानअनुसार आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछ भने एशोसिएट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ । यसअघि वाणिज्य र उद्योगतर्फ मात्रै उपाध्यक्ष थिए । संशोधित विधानअनुसार अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित अनिलकृष्ण श्रेष्ठ आगामी अधिवेशनबाट संघको अध्यक्ष बन्ने पक्का भएका छन् । अधिवेशनले २६ सदस्यीय कार्यसमिति चयन भएका छन् । पछि सोही समितिले ४ जना सदस्य मनोनीत गर्ने विधान छ ।