एजेन्सी ।
भरतपुर, २९ भदौ ।
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले सिन्जो आबेको उत्तराधिकारीका रूपमा योशिहिडे शुगालाई चयन गरेको छ । नयाँ नेतृत्वका रूपमा चयन भएसँगै शुगाले निवर्तमान प्रधानमन्त्री आबेको स्थान पाउने पक्का छ । बिबिसीका अनुसार शुगा ठूलो मतान्तरले विजयी हुँदै सो पार्टीको अध्यक्ष बनेका छन् ।
सत्तारुढ दलका सांसद र क्षेत्रीय प्रतिनिधि गरी ५ सय ३४ मत मध्ये शुगाले ३ सय ७७ मत प्राप्त गरेका हुन् । शुगाको प्रतिस्पर्धीका रूपमा पूर्व विदेश मन्त्री फुमियो किसिदा र पार्टीका पूर्व महासचिव शिगेरु इसिबा रहेका थिए । आगामी बुधबार बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । शुगा पूर्व प्रधानमन्त्री आबेको घनिष्ट सहयोगी पनि मानिने गरेका छन् । शुगाले आफ्ना पूर्ववर्तीका नीतिलाई निरन्तरता दिने बताएका छन् । ७१ वर्षीय शुगा हालको प्रशासनमा मुख्य क्याबिनेट सचिवको रूपमा कार्यरत रहेका छन् ।
स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले गत महिना प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरसम्म कार्यभार सम्हाल्ने बताइएको छ ।