भरतपुर, २९ भदौ ।
अस्ट्रेलिया र इंगल्याण्डबीचको एकदिवसीय शृंखलाको दोश्रो खेलमा इंगल्याण्डले जीत हासिल गरेको छ । आइतबार खेलिएको खेलमा उसले कंसारु टोलीलाई २४ रनले पराजित गरेको हो । जीतका लागि २३२ रनको सामान्य लक्ष्य पाएको अष्ट्रेलिया ४८.४ ओभरमा २०७ रनमा अलआउट हुन पुग्यो ।
एक समय १४४ रनमा ३ विकेट गुमाएको अस्ट्रेलियाले बाँकी ६३ रन जोड्न ७ विकेट खर्चियो । अष्ट्रेलियालाका लागि कप्तान एरोन फिन्चले ७३ तथा मार्क लेनुस्चेनले ४८ रनको पारी खेले । त्यस्तै विकेटकिपर एलेक्स केरीले ३६ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहेन । अष्ट्रेलियालाका ६ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछोई आउट भएका थिए । इंगल्याण्डका सेम कुरान, जोफरा आर्चर र क्रिस वोक्सले समान ३-३ विकेट लिए भने बाँकी एक विकेट अदिल रसिदको नाममा रह्यो । प्लेयर अफ दि म्याच घोषित आर्चरले आफ्नो १० ओभरको स्पेलमा २ मेडेन राख्दै जम्मा ३२ रन खर्चिएका थिए । अष्ट्रेलियालाको पारीमा टम कुरानले पनि २ तथा वोक्सले १ मेडेन ओभर फ्याँकेका थिए ।
यसअघि ओल्ड ट्राफोड मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंगल्याण्डले पनि खराब सुरुवात गरेको थियो । उसले एक समय १४९ रनको स्कोरमै ८ विकेट गुमाइसकेको थियो । इंगल्याण्डलाई सम्मानजनक योगफलसम्म लैजान तल्लो क्रमका ब्याट्सम्यान अदिल रसिदले ३५ तथा टम कुरानले ३७ जोडे । कप्तान इयोन मोर्गनले ४२ तथा जोय रुटले ३९ रन बनाउँदा क्रिश वोक्सले पनि २६ रनको पारी खेले । इंगल्याण्डका ४ ब्याट्सम्यान दोहोरो अंकभन्दा कम स्कोर बनाएर आउट भएका थिए । इंगल्याण्डको पारीमा एडम जाम्पाले ३, मिचेल स्टार्कले २ तथा जोश हेजलहुड, प्याट कमिन्स र मिचेल मार्सले समान १-१ विकेट लिए ।
जीतसँगै इंगल्याण्डले ३ म्याचको शृंखलालाई १-१ को बराबरीमा पुर्याएको छ । यता आइसीसी वर्ल्ड कप सुपर लिगमा इंग्लिस टोलीले १० अंक जोड्दै शीर्ष स्थानलाई थप मजबुत बनाएको छ । उसले ५ खेलबाट ३० अंक प्राप्त गरेको छ भने २ खेलबाट १० अंक बटुलेको अष्ट्रेलिया दोश्रो स्थानमा छ । यी दुई टोलीबीचको तेश्रो तथा निर्णायक एकदिवसीय खेल आउँदो बुधबार खेलिने तालिका रहेको छ ।