भरतपुर, २८ भदौ
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार २ सय ४७ जना पुगेका छन् । पछिल्लोपटक ४ जनाको रिपोर्ट पोजिटिभ आएपछि संक्रमित संख्या साढे १२ सय नजिक पुगेको हो ।
यसमध्ये सक्रिय संक्रमित नै ९ सय ३१ जना छन् । २ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ जनाले ज्यान गुमाएका छन् । आज बिहान होम आइसोलेसनमा एकजनाको मृत्यु भएपछि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको हो । बिहान ६ बजे भरतपुर महानगरपालिका–५, टाइगरचोक निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोस्रो घटना हो । यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । आइतबार मृत्यु भएकी वृद्धा क्यान्सरकी बिरामी हुन् । उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम रहेको तिवारीले बताए ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले दिएको जानकारीअनुसार चितवनका १९ हजार ७ सय नमुना परीक्षण गरिएकामध्ये १ हजार २ सय ४७ पोजिटिभ देखिएका हुन् । यो संख्या कुल परीक्षणको ६.३३ प्रतिशत हुन्छ ।
त्यस्तै जिल्लाको मृत्युदर भने १.३६ प्रतिशत हुन्छ । सक्रिय संक्रमित ७४.६५ प्रतिशत छन् भने २३.९८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
चितवनमा संक्रमित भएकामध्ये ७ सय ३८ जना पुरुष छन् । बाँकी ५ सय ९ जना महिला छन् । जसानुसार पुरुष ५९.१८ प्रतिशत हुन्छ भने बाँकी ४०.८२ प्रतिशत महिला छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ८ सय ५५ जना छन् भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाका ४ जना छन् । त्यस्तै रत्ननगरका १ सय ३६ जना, राप्ती नगरपालिकाका ९९ जना, खैरहनी नगरपालिकाका ६४ जना, माडी नगरपालिकाका ५३ जना र कालिका नगरपालिकाका ३६ जना रहेका पौडेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएकोमा होम आइसोलेसनमा मात्रै २५० जना भन्दा बढी छन् ।
भरियो बागेश्वरी आइसोलेसन
भरतपुर–१, बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालन गरिएको आइसोलेसनका सबै ७५ शय्या भरिएका छन् ।
चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरूका लागि शय्या अभाव हुन थालेको हो । चितवनमा भरतपुर सरकारी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चितवन मेडिकल कलेजलगायत केही अस्पतालमा कोरोना संक्रमितलाई राखेर उपचार गरिए पनि अस्पतालमा शय्या अभाव हुँदा बागेश्वरीमा अवस्थित प्राकृतिक चिकित्सालयलाई आइसोलेसन बनाएर भदौ १४ गतेबाट कोरोना संक्रमितलाई राख्न थालिएको थियो ।
चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या अप्रत्यासितरूपमा बढ्दै गएको र डिस्चार्ज हुनेहरूको संख्या कम भएकोले शय्या अभाव हुन गएको हो ।
बागेश्वरीस्थित योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले शनिबार साँझ अस्पतालका सबै आइसोलेसन बेड भरिएकाले थप कोरोना संक्रमितलाई राख्न नसकिने अवस्था सिर्जना भएको कायाकैरनलाई बताए । भरतपुर महानगरपालिकाको सहयोगमा बागेश्वरीस्थित प्राकृतिक चिकित्सालयलाई आइसोलेसन बनाएर सञ्चालन गरिएको छ ।
भरतपुर अस्पतालको आइसोलेसनमा पनि ७६ जना संक्रमित रहेको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । त्यहाँ पनि आइसोलेसन बेड ७५ छन् ।