प्रारम्भिक जीवन
बि.पि.कोइरालाको बि.सं. १९७१ भाद्र २४ तदनुसार इ.सं.१९१४ सेप्टेम्बर ८ तारिखमा मा जन्मेका थिए । उनको शिक्षा दिक्षा बनारमानै भएको थियो । वि.पि.ले सन् १९३४ मा वनारस बिश्व बिद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक पूरा गरेपछि सन् १९३७ मा कलकत्ता विश्व बिद्यालयबाट कानूनमा स्नातक अध्ययन समेत पूरा गर्नुका साथै करीव १० बर्ष दार्जलिगमा कानून व्यवसाय समेत गरेका थिए ।
बि.पि.व्यक्ति एक भएपनि उनका व्यक्तित्व अनेक छन् । उनलाई प्रजातन्त्रबादी शीर्ष राजनेता, समाजबादी चिन्तक, राजनीतिक अर्थशास्त्री र मनोबिश्लेषणात्मक साहित्यकारको व्यक्तित्वका रुपमा अध्ययन गर्न सकिन्छ । बि.पि.लाई एउटा पाटोमात्र बुझ्न खोजेर हुन्न । उनको हरेक व्यक्तित्वलाई बुझन जरुरी छ । तसर्थ बि.पि.को व्यक्तित्वलाइ देहायको बुँदाबाट अध्ययन गर्ने प्रयास गरौ :
१. राजनीति
२. समाजबाद
३. अर्थब्यस्था र आर्थिक विकास
४.आधुनिक साहित्यकार
१.राजनीति
बि.पि.को राजनीतिक जीवन विद्यार्थीकालमा १९३० (वि.सं.१९८७)को बेलायती सरकारको गिरफ्तारी देखिनै शुरुभएको हो । उनी सन् १९३४ देखि भारतीय राष्ट्रिय काग्रेसमा संलग्न भएका र सोही समयदेखिनै भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएका थिए । उनी द्धितीय बिश्वयुद्धको समयमा सन् १९४२–१९४४मा दुई बर्ष ब्रिटिश इण्डीया द्वारा धनवादमा थुनामा पनि बस्नु पर्यो ।
भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको समयमा नेपालमा पनि जहानीया राणा शासन बिरोधी आन्दोलनहरु चल्दै गरेका थिए । यसै समयमा भारतमा काग्रेशको दुईवटा भिन्दा भिन्दै राजनीतिक दल खुलेका थिए । एउटा मातृका प्रसाद कोइरालाको अध्यक्षतामा नेपाल राष्ट्रिय कांग्रेस र अर्को सुबर्ण शम्शेरको अध्यक्षतामा नेपाली प्रजातन्त्र कांग्रेस । यी दुवैको अभिष्ट एउटै थियो । त्यसर्थ बि.पि.कोइरालाले यी दुवैलाई एकै ठाउमा ल्याउन सक्रियता देखाए । फस्वरुप उनको पहल र सक्रियतामा यी दुवै कांग्रेसलाई मिलाएर वि.सं.२००६ साल चैत्र २८ गते नेपाली काँग्रेस पार्टीको स्थापना गराउन बि.पि.कोइराला सफल भए । सो पार्टीको अध्यक्ष मातृका प्रसाद कोइराला भएका थिए ।
नेपालमा राणा बिरोधी आन्दोलन चलिरहेकै सिलसिलामा वि.सं.२००४ (सन् १९४७ )मा विराटनगरमा मजदुर आन्दोलन भयो । सो आन्दोलनमा सघाउन बि.पि.नेपाल आएका थिए । सोही समयमा भाई गिरिजा र अन्य नेताहरु सहित वि.पि.पक्राउ परे । राणा सरकारद्वारा बि.पि.कोइराला लगायत पक्राउ परेका सवै व्यक्तिहरुलाई २१ दिन पैदल हिडाएर पहाडिबाटो हुँदै काठमाडौ ल्याईयो र जेलमा राखियो । वि.पि.ले जेलमा २७ दिनसम्म लामो भोक हडताल गरे । सो भोक हडताल र महात्मा गान्धीको अनुरोधमा उनलाई जेलबाट मुक्त गरियो । जेल मुक्त भएपछि उनी आफ्नो नियमिमत राजनीतिक गतिबिधिमा संलग्न भए ।
२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । राणा शासनको अन्त्य भएपछि १० फागुन,२००७ मा राणा—काग्रेस संयुक्त सरकार गठन भयो । उक्त राणा–कांग्रेस संयुक्त सरकारमो बि.पि.कोइराला गृहमन्त्री भए । बि.पि.ले सो संयुक्त सरकारमा रहेर १० फागुन,२००७ देखि २६ कार्तिक, २००८ सम्म ९ महिना गृृहमन्त्रीका रुपमा काम गरे । त्यसपछि राणा कांग्रेसको सरकार भंग भयो । राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि बि.पि.पार्टी संगठनमा लागे । उनी नेपाली कांग्रेसको दोश्रो सभापति पनि भए र उनी सभापतिको रुपमा १३ जेष्ठ, २००९ देखि १० माघ,२०१२ सम्म कार्यरत रहे ।
नेपालमा वि.सं.२०१५ मा भएको संसदीय चुनावमा बि.पि.को नेतृत्वमा नेपाली कांग्रेसले कुल १०९ सीटको संसदमा ७१ सिट अर्थात दुई तिहाई सिटमा विजय प्राप्त गर्यो । वि.पि.कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो । बि.पि.कोइराला नेपालका प्रथम जननिर्वाचित एवं २२ सौं प्रधानमन्त्री बने । वि.पि.कोइरालाको नेतृत्वको नेपाली कांग्रेसको सरकार १३ जेष्ठ,२०१६ देखि १पौष, २०१७ (सन् २७ मे, १९५९ देखि १५ डिसेम्बर, १९६०) सम्म राजा महेन्द्रले बिशेष अधिकार प्रयोग गरी संबिधान र सरकार भंग नगर्दा सम्म १८ महिना कायम रह्यो ।
सरकारबाट अपदस्थ भए पश्चात वि.पि.कोइरालालाई कैद गरियो । करीब ८ बर्षको जेल जीवन व्यतित गरेपछि बि.सं.२०२५ मा उनलाई जेलमुक्त गरी निर्वासनमा जान दिइयो । बि.पि.ले आफ्नो निर्बासित जीवन भारतमा व्यतित गरे । उनले निर्वासित समयमा पनि देश र प्रजातन्त्रका लागि अनवरत संघर्ष गरिरहे ।
वि.पि.को बिश्लेषणमा तत्कालीन अन्तराष्ट्रिय राजनीतिक परिवेश बिस्तारबाद उन्मुख भएकोले सो परिवेश मुलुकको हित प्रतिकूल रहेको र राष्ट्र र राष्ट्रियता माथि खतरा महसुस गरेर बि.सं २०३३ पौषमा राष्ट्रिय मेलमिलापको नीति उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले देशद्रोहको आरोप लगाएर पक्राउ गरी नजरबन्द गर्यो । वि.पि. घाँटीको क्यान्सर उपचारको लागि बिदेश समेत गए । तर निको भएन । सोही रोगका कारण बि.सं २०३८ श्राबण ६ मा उनी सदाकालागि बिदा भए ।
बि.पि.प्रखर वक्ता, साहसिक व्यक्तित्व, राजनीतिका अथक र अबिचलित साधक, प्रजातन्त्र प्रेमी र समाजबादका प्रणेता थिए । उनमा बैचारिक स्पष्टता, छविमा स्वच्छता र व्यवहारमा इमान्दारिताका साथै उनीसंग राष्ट्रलाई नयाँ स्वरुप दिने दूरदृष्टि थियो ।
२. समाजबादी चिन्तक
भारतमा गान्धीे औद्योगीकरण, शहरीकरण, प्रबिधि आबश्यकता पूर्तिको लागि आवश्यक छैन । उनी ग्रामीण स्वराज र आत्मनिर्भर गाँउ स्थायी आवश्यकता हो भन्ठान्थे । तान्जनीयाका राष्ट्रपति जुलिये नेरेरे वैदेशिक सहायताले अफ्रिकन मूल्यलाई नास गर्ने र परनिर्भरता गराउँछ भन्ने मान्यताले वैदेशिक सहयोग अस्वीकार गर्थे । अर्कोतर्फ चीनमा माउत्से तुङले पश्चिमी पूँजीबाद अस्वीकार गर्दै चिनीया मूल्य अनुसार माओबादी राजनीतिक अर्थतन्त्रको निर्माण गरेको समसामयिक अवस्थाले गर्दा एकातिर उदार पूँजीबादी र हर्कोतर्फ कम्युनिष्ट दुई बिचारधारा बीच शीतयुद्धको अवस्था थियो । त्यतिबेला अर्कोतर्फ अफ्रो एशियाली मुलुकहरुले असंलग्न आन्दोलनलाई जन्म समेत
दिएका थिए ।
वि.पि.को सक्रियता उनकै अध्यक्षतामा सन् १९५० मा एशियन सोसलिष्ट एशोसिएसन स्थापना भयो । तत्पश्चात सोसलिष्ट एशियाका समाजबादी राजनीतिक पार्टीहरुले सन् १९५३ मा बर्माको यांगुन (तत्कालिन रंगुन) मा पहिलो एशियन सोसालिष्ट सम्मेलन गरे । उक्त सम्मेलनले एशियन बिशेषताको समाजबाद प्रस्ताव गर्यो । नेपाली काँग्रेस पार्टीलाई वि पि ले समाजवादी धारामा स्थापित गरे । उनले नेपाल जस्तो गरीव मुलुकमा बैयक्तिक स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारहरुका लागि प्रजातान्त्रिक समाजबाद नै उपयुक्त हुन सक्छ भन्ने बिश्वास राख्थे ।
सोसलिष्ट इण्टरनेशनलको अध्यक्ष भएका कारण बि.पि.कोइरालकाको विश्वका समाजबादी नेताहरुसंग सम्पर्क थियो । सम्पर्कमा भएका नेताहरुमा बिलि ब्राण्ट –जर्मन चान्सलर, भारतीय नेताहरु मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया तथा चीनका नेता माओत्से तुङ आदि थिए ।
समाजबाद बारे वि.पि.भन्छन् व्यवहारिक समाजबाद भोको मानिसको लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यबादमा प्रजातन्त्र थपिदियो भने समाजबाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद रहन्छ । बि.पि.का बिचारमा समाजबादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ ।
वि.पि.को प्रजातान्त्रिक समाजबाद भन्नुनै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग वा समष्टि हो । उनका अनुसार समाजबादनै भविष्यको आयाम हो । बि.पि.कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्ताबाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे ।
३. अर्थतन्त्र र आर्थिक विकास सम्बन्धी चिन्तन
वि.पि.को अर्थतन्त्र र आर्थिक दृष्टिकोण स्पष्ट थियो । वि.पि.को दृष्टिकोणमा आर्थिक प्रजातन्त्रको लागि राजनीतिक प्रजातन्त्र आवश्यक छ । तसर्थ अर्थतन्त्र र आर्थिक विकासम निम्न कुरा आवश्यक पर्ने कुरा वताएका छन् :
(क) पूर्णरुपले विकसित प्रजातान्त्रिक समाज र समाजबादको सिद्धान्त,
(ख) अर्थतन्त्रको आर्थिक रुपान्तरणको ढाँचा आफ्नै स्थानीय आधार हुनु पर्छ, (
ग) समानतामा आधारित सहभागितात्मक उत्पादन प्रक्रियामा राज्यको अभिभावकीय भूमिका,
(घ) राज्यले नागरिकलाई उनीहरुको क्षमताले सकेसम्मको परिश्रम गरी उत्पादन गर्न प्रेरित गर्नु पर्छ ।
वि.पि.को अर्थतन्त्र र आर्थिक चिन्तनमा समेटिएका मूलभूत बिषयहरु निम्न थिए :
१. औद्योगीकरण,
२. भूमिसुधार,
३. कर,
४. बैदेशिक सहयोग
५. प्रबिधि र विकास
६ .बिकेन्द्रीकरण र
७. उत्पादनको गतिशीलता
४. साहित्यकार
नेपालमा काठमाडौबाट बि.सं १९९१ सालदेखि शारदा पत्रिका प्रकाशित हुन थाल्यो । सो पत्रिका नै नेपाली आधुनिक कथा साहित्यको पहिलो चौतारो मानिएको छ । समीक्षकहरु भन्छन्– सो समयदेखि नेपाल भित्र र बाहिर प्रकाशित विभिन्न पत्रिकाहरुमा नेपाली आधुनिक कथाको मौलिक स्वरुप देखिन थालेको हो । उक्त समयलाई शारदा काल भनेर बुझिन्छ । शारदा कालमा कथा लेख्ने आधुनिक कथाकारहरुमा गुरुप्रसाद मैनाली,पुष्कर शम्शेर, बालकृष्ण सम र बिश्वेश्वर प्रसाद कोईराला थिए ।
बि.पि. मनोवैज्ञानिक कथाकार हुन । बि.पि.कोइरालाकोे प्रथम नेपाली कथाचन्द्रबदन थियो । उनको चन्द्रबदन कथो शारदा पत्रिकामा वि.सं.१९९१ मा प्रकाशित भएको थियो । यो कथा यौन मनोमनाबिश्लेषण गरिएको आधुनिक कथा हो । बि.पि.का कथाहरुमा यौनजन्य अतृप्ति र मानसिक समस्या जनित नारी मनका यौन समस्याको सूक्ष्मतम मनोबिश्लेषण गरिएका हुन्छन् ।
उनका अन्य कथाहरुमा कर्नेलको घोडा, पबित्रा र शत्रु आदि हुन् । यी कथाहरुमा पनि कथाकारले नारी भित्र रहेका यौन कुण्ठा र अतृप्त यौन चाहना जनित मनोदशालाई उजागर गरेका छन् । त्यस्तै मधेशतिर कथा नेपाली पृष्ठभूमिमा अधिकांश नेपालीको आर्थिक जीवन र बालबैधव्यजनित यौन अतृप्ति यी दुवै समस्याको गोरे र बिधवा पात्रको माध्यमबाट व्यक्तगर्न सफल भएका छन् । उनको उल्लिखित कथाहरु निकै सफल र बहुचर्चित कथा हुन् । उनको कथा शैली सरल र छरिता छन् ।
वि.पि.ले आफूलाई वि.सं.१९९५मा नै एउटा सशक्त र सफल आधुनिक कथाकारको रुपमा स्थापित गरिसकेका देखिन्छन् । त्यतिवेला उनको उमेर चौवीस बर्षमात्र भएको थियो । बि.पि.का दुइवटा कथा संग्रहहरु प्रकाशित भएका छन् । ती मध्ये दोषी चश्मा, वि.सं.२००६ र श्वेत भैरवी वि.सं.२०४० हुन् । नेपाली साहित्यमा फ्रायडीय मनोविज्ञानको प्रयोग गरेर मानव मनको सूक्ष्मतम बिश्लेषण गरेर कथा लेख्ने कथा शिल्पी हुन कोइराला । कथाकार बि.पि. साहित्यकार लरेन्स र चेखभबाट प्रभावित थिए भनिन्छ ।
वि.पि.ले कथाका अतिरिक्त जीवनी तथा थुप्रै उपन्यासहरु पनि लेखेका छन् । उनका उपन्यासहरु तीन घुम्ती (ई.स १९६८), सुम्निमा (ई.स १९६९), नरेन्द्रदाई (ई.स १९६९), मोदिआइन (ई.स १९८०), हिटलर र यहुदी (२०४२), बाबु आमा र छोरा (२०४६) आदि रहेका छन् । साथै उनको जीवनीमा जेल जर्नल र आफ्नो कथा (अपुरो) हुन् ।
बि.पि.कथा जस्तै नेपाली उपन्यास साहित्यमा पनि उत्तिकै सशक्त र सफल छन् । उनी उपन्यासहरु पनि मनोबिज्ञानको प्रयोग गरेका छन् । जस्तै तीन घुम्तीमा इन्द्रमाया, सुम्निमा पुलोमा र सोमदत्त, नरेन्द्रदाईमा नरेन्द्र, गौरी र मुनरियाको यौन मनोभाव सूक्ष्म तरिकाले केलाएका छन् । बि.पि.को उपन्यासमा नारीपात्रका अचेतन तथा चेतन मनको बिश्लेषण गरिएको हुन्छ । वि.पि.का बारेमा विभिन्न विद्धानहरुको भनाई छ – “उनले राजनीति र नेपाली साहित्यका क्षेत्रमा निर्वाह गरेको भूमिका विर्सनै नसकिने छ । वि.पि.राजनीतिमा समाजबादी र साहित्यमा अराजकताबादी हुन् ।”
सन्दर्भ सामाग्री :
Ref : R.M. Nepal (2020) Int. J. Soc. Sc. Manage. 7(1): 21-29.
DOI: 10.3126/ijssm.v7i1.27104
Wikipedia.org
नेपाली उपन्यासका आधारहरु– इन्द्र बहादुर राई, नेपमली साहित्य परिषद् प्रकाशन, दार्जलिग, १९७४
नेपाली उपन्यास र उपन्यासकार– कृष्णचन्द्रसिंह प्रधान, साझा प्रकाशन, ललितपुर नेपाल, २०३७
तीन घुम्ती,
सुम्निमा, प्रतिनिधि साहित्य प्रकाशन, चावहिल, काठमाण्डू नेपाल, प्र.सं.२०२७
नरेन्द्रदाई, प्रशान्त प्रकाशन, सि.के.३४। लाहोरी टोल बाराणसी,दो.सं.१९८६
बि.पि. बिचार : वर्तमान सन्दर्भमा – गोविन्द राज जोशी, बि.पि.स्मारिका, बि.पि विचार समाज मकवानपुर, २०७५
सझा कथा, दोश्रो संस्करण, २०३१ साझा प्रकाशन काठमाडौ (केही बिबरण–केही बिचरण भैरब अर्याल)