भरतपुर,३०असार।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले मनपरि घरबहाल भाडादर बढाउने काम रोकाउन राज्यसँग लड्ने जनाएको छ । सातौं स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले घरबहाल समस्या निराकरण गर्न राज्यले स्पष्ट नीति ल्याउन नसकेको दुखेसो पोखे ।
“अचानक भाडादार बढाउने, व्यवसायी तथा उपभोक्तालाई तितरवितर पार्ने क्रम रोकिएको छैन”, उनले भने, “अहिलेसम्म घरधनीसँग लड्यौं, अब समस्या हल गर्ने नीति माग्दै राज्यसँगै लडाइँ गर्छौँ ।” मञ्चका पूर्वअध्यक्ष प्रभात ढुंगानाले ‘सलामी’ (सटर लिदा भाडाभन्दा बढी पैसा लिने) प्रथा केही रोकिएपनि वेथिति कायमै रहेको बताए । “खाली सटर वापतको भाडाबाहेक छुट्टै सलामी रकम बुझाएर व्यवसाय सुरु गर्नुपर्ने अवस्था हट्न सकेको छैन”, उनले भने, “व्यवसायी स्वयं सचेत नबन्दासम्म यो समस्या हटाउन मुस्किल छ ।”
मञ्चका सल्लाहका शिवराज गिरीले व्यवसाय सञ्चालन गर्न भाडा लिएको केही महिना नबित्दै मनपरी भाडा बढाउनेविरुद्ध व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए । २०६८ सालमा नयाँ वर्षको शुभकामना बाँड्ने बहानामा घरधनीले भाडादर बढाउने सूचना गरेपछि नारायणगढका व्यवसायी एकीकृत भएर घरबहाल संघर्ष समिति नामाकरण गरी संघर्षमा उत्रिएका थिए । तीन महिनापछि विधान तयारी गरी सो संस्था दर्ता भएको थियो ।
घरबहाल उपभोक्ता मञ्चअन्तर्गत हाल देशभर ४४ शाखा छन् । मञ्चकी वरिष्ठ उपाध्यक्ष तथा विवाद समाधान उपसमिति संयोजक पवित्रा जोशीले दुई वर्ष अवधिमा व्यवसायी तथा घरधनीले ६० वटा निवेदन दर्ता गराएको बताइन् । “घरबहालसम्बन्धी धेरै समस्या अझै मञ्चसँग आइपुगेका छैनन्”, उनले भनिन्, “तर, मञ्च स्थापना भएपछि व्यवसायी र घरधनीबीच केही सम्बन्ध सुधार भएको छ, मनपरि रोकिने क्रम सुरु भएको छ ।”
उनका अनुसार दर्ता भएका उजुरीमध्ये २७ जना व्यवसायीको समस्या समाधन भएको छ भने घरधनीका तर्फबाट आएका विवादित निवेदनमध्ये १६ वटा समाधान भएका छन् । करिब ३७ वटा विवाद स्थलगतरुपमै समाधान भएका छन् । झण्डै २० वटा मौखिक उजुरी परेका थिए । मञ्चले व्यवसाय सुरुआत गर्दा घरबहाल सम्झौता अनिवार्य गर्ने सचेतना फैलिदै गएको जनाएको छ । यसैबीच नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आफ्नो स्थापना दिवसको अवसरमा पुलचोक नारायणगढमा दिपप्रज्वलन गरेको छ ।
अबको लडाई राज्यसँग ःमञ्च
अबको लडाई राज्यसँग ःमञ्च
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस