भरतपुर, २३ भदौ ।
नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको बागबजारमा रहेको कालिका प्रिन्टर्सबाट सोमबार पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएकाहरुमा बर्दघाट नगरपालिका-१३ नवलपरासी घर भई काठमाडौं रातोपुल बस्ने कालिका प्रिन्टर्सका सञ्चालक ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दियाको राजापुर नगरपालिका-१० घर भई कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, कावासोती नगरपालिका-८ नवलपरासी घर भई काठमाडौं भिमसेनगोला बस्ने २९ वर्षीय रमेशकुमार रेग्मी र स्याङ्जाको जगत्रदेबी नगरपालिका-९ घर भई टोखा बस्ने ३९ वर्षीय राजेन्द्रराज भण्डारी छन् ।
उनीहरुले कोरोना भाइरसका कारण जारी निषेधाज्ञामा हिँडडुल गर्नका लागि नक्कली प्रेस पास बनाएर बेच्ने गरेको पाइएको छ । उनीहरु प्रेसकार्डदेखि अस्पतालको समेत नक्कली कार्ड बनाउने गरेको प्रहरीले जनाएको छ । यसरी बनाइएका कार्ड ५ सयका दरले बिक्री हुँदै आएका थिए ।
प्रहरीले उक्त प्रिन्टर्समा छापा मारेर विभिन्न मिडियाका १० थान नक्कली प्रेसकार्ड, विभिन्न अस्पतालका २५ थान नक्कली कार्ड, प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र ३ थान, कलर मेसिन, स्क्यानर मेसिन, प्रिन्टर, ल्यापटलगायतका सामाग्री बरामद गरेको छ ।