धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,३० असार ।
विवादका कारण पारित हुन नसकेको रत्ननगर उद्योग वाणिज्य संघको विधान संशोधन अन्ततः पारित भएको छ । संशोधनमा असहमति जनाएका केही व्यवसायी र विधान संशोधन समितिबीच बिहीबार भएको सहमतिअनुसार विधान संशोधन भएको हो ।
असहमति जनाएका व्यवसायीलाई साधारणसभा भएको दिन यही असार २६ गते साधारणसभाले समितिसँग छलफलका लागि म्यान्डेट दिएको थियो । संशोधित विधानअनुसार अब आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको पनि यस्तै प्रावधान छ । सोहीअनुसार रत्ननगर उद्योग वाणिज्य संघ पनि अघि बढेको हो ।
साधारणसभा स्थगित भएको दिनदेखि प्रत्येक दिन पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेकोमा बिहीबार अपराह्न भएको अन्तिम छलफलमा विधान संशोधन गरिएको संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए । “विधान संशोधनका लागि लामो प्रयास गरियो”, संघका अध्यक्ष बिसुरालले भने, “बिहीबार विधान संशोधन र निर्वाचन जाने सहमति भएको छ ।
त्यस्तै संशोधित विधानअनुसार दुई उपाध्यक्षको पद थप भएको छ । संघका अध्यक्ष बिसुरालका अनुसार एशोसिएट र वस्तुगत उपाध्यक्ष थप गरिएको हो । यसअघि उद्योग र वाणिज्यतर्फको मात्रै उपाध्यक्ष थिए । केही सीमित व्यवसायीको विरोधबीच विधान संशोधन भएको हो । विधान पारित भएपछि निर्वाचन तालिका पनि सार्वजनिक भएको छ । शुक्रबार बिहान १० बजेदेखि उम्मेद्वारी दर्ता, साढे १० बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता, १ बजे नामावली प्रकाशनको समय तोकिएको छ ।
यस्तै १ बजेदेखि साढे १ बजेसम्म उम्मेद्वारको दावी विरोध, १ बजेदेखि ३ बजेसम्म उम्मेद्वारी फिर्ता, ३ बजेसम्मै विरोध उपर छानविन र साढे ३ बजे अन्तिम नामावली प्रकासन गरिने संघका अध्यक्ष बिसुरालले बताए । असार ३१ गते शनिबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म बकुलहर माविमा निर्वाचनको समय र स्थान तय भएको छ भने लगत्तै मतगणना गरिने उनले बताए । आगामी तीन वर्षे कार्यकालका लागि संघको कार्यसमितिमा रहेका व्यवसायीहरुले संस्थापन समिति बनाएका छन् ।
सबै दल निकटका व्यवसायीहरु मिलेर संस्थापन समिति बनाइएको हो । संस्थापन समितिको अध्यक्षमा वर्तमान उपाध्यक्ष राजाराम रेग्मी रहेका छन् । रेग्मीकै नेतृत्वमा संस्थापन पक्ष चुनावमा होमिने छ । सहमतिअनुसार एमाले निकटलाई एक अध्यक्ष, वस्तुगत र एशोसिएट गरी दुई उपाध्यक्ष र ७ सदस्य दिइने छ भने कांग्रेस निकटलाई वरिष्ठ उपाध्यक्ष, वाणिज्य र उद्योग गरी दुई उपाध्यक्ष र ८ सदस्य, नेकपा माओवादी केन्द्र निकटलाई महासचिव, कोषाध्यक्ष र ६ सदस्य तथा एक सदस्य राप्रपालाई दिइनेछ ।
संस्थापन समितिको अध्यक्षमा रेग्मी, वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विनोद पोखरेल, वस्तुगत उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योग उपाध्यक्षमा रघुनाथ भट्ट र एशोसिएट उपाध्यक्षमा शंकर गिरीको टिम चुनावमा होमिने छ । त्यस्तै माओवादी केन्द्र निकटका नीराजन खनाल महासचिव र केन्द्र निकटकै देवीप्रसाद डल्लाकोटी कोषाध्यक्षमा चुनावी प्रतिस्पर्धामा उत्रने छन् ।
सस्ंथापन पक्षको टिम चुनावमा जाने भएपछि पूर्व कोषाध्यक्ष यदुकृष्ण भट्टले अध्यक्ष वा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । संघमा राजनीतिक चलखेल बढेकाले त्यसको विरुद्धमा आफूले ती दुईमध्ये एक पदमा उम्मेद्वारी दिने भट्टटले कायाकैरनलाई बताए । विधान संशोधनको विषयलाई लिएर साधारणसभा भएको दिन असार २६ गते विवाद उत्कर्षमा पुग्दा मञ्चमा तोडफोडसमेत भएको थियो ।
विधान पारित, निर्वाचन ३१ गते
विधान पारित, निर्वाचन ३१ गते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस