एजेन्सी,
भरतपुर, २३ भदौ ।
युएफा नेसन्स लिगको पछिल्लो खेलमा इटालीले नेदरल्यान्ड्सलाई हराउँदै समूह ‘ए–वान’ को शीर्ष स्थानमा उक्लिन सफल भएको छ । सोमबार खेलिएको खेलमा उसले नेदरल्यान्ड्समाथि १–० को संघर्षपूर्ण जीत निकालेको हो । उक्त खेलमा निकालो बारेलाले पहिलो हाफमा थपिएको समयमा हेडबाट निर्णायक गोल गरेका थिए ।
दुवै टिमले समान चुनौती पेस गरेको खेलमा इन्टर मिलानका मिडफिल्डर बारेलाको हेड एक मात्र स्पष्ट मौका रह्यो । यही समूहमा रहेको पोल्याण्डले बोस्निया–हर्जगोभिनालाई २–१ ले हराउँदै तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । अन्य खेलमा रोमानियाले अस्ट्रियालाई ३–२, नर्वेले उत्तरी आयरल्यान्डलाई ५–१ र स्कटल्यान्डले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेका छन् ।