बिप्लव काफ्ले
भरतपुर,३० असार ।
चितवनमा प्रहरी जवान पदमा दरखास्त दिएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । २६ गतेको छनौट प्रक्रियामा नाम दर्ता नभएकी बारा मनहरवाकी गंगा चौधरीले बहिनी जमुनाको परीक्षा दिएको खुल्न आएको छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले विस्तृत स्वास्थ्य परीक्षण गर्न जाने क्रममा हस्ताक्षर गर्ने बेला सो तथ्य खुलेको जानकारी दिए । प्रारम्भिक स्वास्थ्य परीक्षण, दौड, सिटअप, पुसअपलगायत परीक्षा दिदीले दिएको पाइएपछि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए । “नक्कली परिक्षार्थी पत्ता लगाउने प्रविधि जडान गरेका छौँ”, उनले भने, “विद्युतीय हाजिरी गर्दा नक्कली भएको पत्ता लागेको हो ।”
शारीरिकरुपमा कमजोर र परीक्षामा उत्तीर्ण हुन नसक्ने कारण बहिनीले दिदीलाई सहभागी गराएको प्रारम्भिक तथ्यले देखाएको छ । उनीहरु यसअघिको प्रहरी सहायक निरीक्षक पदमा पनि यी दुवैले सहभागिता जनाएका थिए । यसपालि शिक्षालयले करिब १ लाखको लागतमा औंठाछापसहितको विवरण राख्ने काम सुरु गरेको हो । “परीक्षामा सहभागी हुँदा हरेक पटक सो व्यक्ति हो वा होइन भनेर निगरानी गर्ने गरेकै थियौँ”, उनले भने, “जुम्ल्याहा भएका कारण सुरुमा समस्या देखियो, तर औंठाछाप फरक पाइएपछि दिदी बहिनी दुवैलाई कारबाहीका लागि पठाएका छौँ ।”
उनीहरुविरुद्ध मुद्धा दायर गरेर कारबाही गर्ने प्रक्रिया चल्दै छ । सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय चितवनलाई जिम्मा लगाइएको छ । “विगतमा अन्य क्षेत्रमा पनि नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको तथ्यले हामीले सुरक्षाको उपाय अपनाएका हौँ”, उनले भने, “औंठाछाप राखेर निगरानी गर्ने प्रविधि प्रभावकारी देखिएको छ, अझै अन्य प्रविधि जडान गर्न सकेमा प्रारम्भिक चरणमा हुनसक्ने घुसपैठ रोक्न सकिन्छ ।”
सुरुमा कागजात परिक्षण, प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि दौडलगायत अन्य शारीरिक परीक्षणमा सामेल गराउने गरिन्छ । उनले परीक्षार्थी सक्कली भए नभएको निगरानी गर्ने संयन्त्र परिचालन गरिएको बताए । “शारीरिक तथा लिखित उत्तीर्ण गरेपछि मौखिक परीक्षामा भनसुन गर्न धेरै आउने गर्छन्”, उनले भने, “हामी त्यस्ता गलत अभ्यास गर्नेछैनौँ, पारदर्शीरुपमा छनौट गर्न लागेका छौँ ।” शारीरिक परीक्षाको पूर्णाङ्क १ सय, लिखित परीक्षाको पूर्णाङ्क १ सय र मौखिक परीक्षाको पूर्णाङ्क २० रहने गर्छ ।
२६ गते ३ सय जना परिक्षार्थीको परिक्षा लिइएको थियो । जसमध्ये पहिलो चरणमा ६९ जना उत्तीर्ण भएका थिए । शिक्षालयले ३ हजार ३ सय ६ जना मध्येबाट प्रहरी जवान छनौट गर्दै छ । बारा, चितवन, मकवनापुर, पर्सा, रौतहट, धादिङबाट आवेदन दिनेमध्येलाई तालिकाअनुसार दैनिक दुई सिफ्टमा छनौट प्रक्रिया चलिरहेको छ ।
छनौट प्रक्रिया साउन ६ गतेसम्म चल्ने छ । “अब सरकारलेनै पूर्व तालिम दिएर प्रहरी भर्ना प्रक्रिया चलाउँदा योग्य व्यक्ति छान्न सहज हुन्छ”, उनले भने, “एकैचोटी परीक्षामा सामेल हँुदा धेरै असफल हुने गरेका छन् ।” उनका अनुसार यसपटकको प्रहरी जवानको कोटा निर्धारण नभएकाले कार्यविधि तथा मापदण्डअनुसार सफल हुने सबै आवेदक छनौट हुने बताए । निर्वाचनका कारण केही ढिलो छनौट प्रक्रिया सुरु भएको हो ।