भरतपुर, २२ भदौ ।
व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको प्रतियोगितात्मक कार्यक्रम हल्ट प्राइजको आगामी संस्करण (२०२०-२१) चितवनमा पनि आयोजना हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन जिल्ला आसपासका कलेजहरूबीच सो प्रतियोगिता हुने भएको हो । हल्ट प्राइजले गत अगष्ट महिनाको अन्त्यतिर जिल्ला आयोजक समितिका लागि प्रतियोगीहरूबाट दरखास्त आह्वान गरेको थियो ।
सोही क्रममा भरतपुर महानगरपालिका वडा नं १० स्थित बोस्टन इन्टरनेशनल कलेजमा एमबीए अध्ययनरत छात्र दिपेश गौतम “हल्ट प्राइज पोखरा विश्वविद्यालय” अन्तर्गत चितवनको क्याम्पस निर्देशक पदमा छनौट भएसँगै यहाँका विद्यार्थीहरूलाई पनि विश्वभरका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने मौका जुटेको हो । कार्यक्रममा बोस्टन कलेजसँगै पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका अक्स्फोर्ड, युनाइटेड टेक्निकल, भ्याली स्टेट, लगायत कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । विद्यार्थीहरूले एउटा समूहमा तीनदेखि चार जनासम्म रहन पाउने क्याम्पस निर्देशक गौतमले बताए । उक्त कार्यक्रम आगामी डिसेम्बर १५ तारिख भित्र आयोजना हुने गरी तयारी थालिएको पनि गौतमले जानकारी दिए ।
विश्वभरका करिब दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरूले भाग लिने बताइएको उक्त प्रतियोगितामा विद्यार्थीहरूलाई खाद्य सुरक्षा, ऊर्जा, शिक्षा तथा जल संकटमध्ये कुनै एउटा शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन भनिने छ । सबैभन्दा उत्कृष्ट योजना प्रस्तुत गर्ने विद्यार्थीको समूहले १० लाख अमेरिकी डलर जित्न सक्ने आयोजक समितिले जनाएको छ । यस पटक हल्ट पुरस्कारको विषयवस्तु फुड फर गुड अर्थात् राम्रोको लागि खाना भन्ने रहेको छ । प्रतिस्पर्धी विद्यार्थीहरूले वहानको प्रयोग गरी खानालाई सबैको पहुँचमा पु¥याउन कस्तो रूपान्तरणको आवश्यकता रहेको हुन्छ भन्ने विषयमा आफ्ना योजनाहरू प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ । कलेजस्तरको प्रतियोगितामा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्ने आयोजकले जानकारी दिए ।
हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रूपमा आयोजना गर्दै आएको सो कार्यक्रमले युवामा बौद्धिकताको विकास गराउने लक्ष्य लिएको आयोजकले बताए । कार्यक्रममार्फत नै विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूमा दीगो र लाभदायक व्यवसायिक विचारको उद्घाटन गराउन पनि सहयोग पुग्ने आयोजक पक्षको दाबी रहेको छ ।