धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२९ असार ।
हालै निर्वाचित जनप्रतिनिधिले नगरबासीको प्रश्नैप्रश्नको सामना गर्नुपरेको छ । कार्यकारी अधिकृत विहीनतादेखि विकास निर्माणको कामबारे निर्वाचित भएको करिव दुई महिनाको समयपछि नगरबासीबाट जनप्रतिनिधिले प्रश्नको सामना गर्नुप¥यो ।
रत्ननगर नगरपालिकाको चालु आर्थिक वर्ष २०७३÷७४ को तेस्रो तथा अन्तिम चौमासिक अवधिको बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीप्रति मिश्रित खालका प्रश्न खडा गरे । कार्यक्रममा रत्ननगर–१ स्थित मिलिजुली टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले लामो समयसम्म कार्यकारी अधिकृत नहुँदा जनताका काममा बाधा पुगेको बताए ।
रत्ननगर नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा हाल चितवन स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले कार्यकारीको रुपमा काम गर्दै आएका छन् । तर, दुईवटा कार्यालय हेर्नुपर्दा यहाँका जनताको काममा समस्या परेको भन्दै टोल विकास संस्थाका अध्यक्ष पौडेलले कार्यकारी अधिकृत ल्याउनका लागि पहल गर्न आग्रह गरे । “स्थानीय विकास अधिकारीले कार्यकारीका रुपमा काम गरेपनि दिउँसोमा समय दिन सक्दैनन्”, उनले भने, “यसले जनताको काम ढिलासुस्ती हुन पुगेको छ ।”
मिलिजुली टोल विकास संस्थाका अध्यक्ष पौडेलले नगरपालिकाकाभित्रको भौतिक पूर्वाधार निर्माणमा पुरानै ठेकेदारलाई मात्र कामको जिम्मा दिने गरेका कारण गुणस्तरको काम हुन नसकेको आरोप लगाए । रत्ननगर–४ स्थित वडा नागरिक मञ्च संयोजक रामकृष्ण गिरीले कार्यकारी अधिकृतविहीनता लज्जाको विषय रहेको टिप्पणी गरे । “स्थानीय विकास अधिकारी कार्यकारी अधिकृत भएपनि आउने समय निश्चित छैन”, गिरीले भने, “जनताहरु फाईलमा हस्ताक्षरको लागि कुरेर बस्नुपर्ने बाध्यता छ, यसमा जनप्रतिनिधिले पहल गरिदिनुस् ।”
कार्यक्रममा स्थानीय अगुवा हरिविलास खनालले नगरभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गरी सदुपयोग गर्न नगरपालिकालाई सुझाव दिए । “नगरभित्र धेरै सार्वजनिक जग्गा छन्, त्यसलाई हडप्नेको भीड छ”, खनालले भने, “जनप्रतिनिधिले त्यसको संरक्षण गर्न आवश्यक कदम चालोस् ।” अर्का अगुवा निजानन्द मल्लले स्थानीय सकारको अनुभूति दिलाउने गरी काम गर्न आग्रह गरे । “जनताले उत्साहका साथ जनप्रतिनिधि छानेका छन्”, मल्लले भने, “सिंहदरबारको अधिकार गाउँमा आएको भन्ने आभाष दिलाउने गरी परिवर्तित स्वरुप दिनुस् ।”
कार्यक्रममा व्यावसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर बगाले, शिक्षक धनप्रसाद अधिकारी, विष्णु थापा, सीता खनाल, होमनाथ रेग्मी, अनिल भट्टलगायले विकास निर्माणबारे जिज्ञासा राखेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले पाँच वर्षे अवधिमा परिवर्तनको आभाष दिलाउने गरी काम गर्ने बताए । “सुधार गर्नुपर्ने कुरा धेरै छन्”, नगर प्रमुख वनले भने, “आवश्यकताअनुसार परिमार्जित हुँदै विकासको अनुभूति दिलाउन प्रयास गर्नेछौं ।”
नगर प्रमुख वनले आफू निर्वाचित भएर आएको दिनदेखि कार्यकारी अधिकृत ल्याउन पहल गरिरहेको र मन्त्रालयले नपठाउँदासम्म स्थानीय विकास अधिकारीमार्फत काम भइरहेको बताए । उनले विकास निर्माण काममा गुणस्तर ल्याउने, सार्वजनिक जग्गा संरक्षण गर्ने, कार्यालय सुधार गर्नेजस्ता विषयमा गम्भीर भएर लाग्ने बताए । सो अवसरमा नगरबासीबाट आएका जिज्ञासामा नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेल, योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगानाले जवाफ दिएका थिए भने सूचना अधिकारी उर्मिला दाहाल तामाङले अहिलेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नगर प्रमुख वनको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विमला दुवाडी, कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी, नेकपा एमालेका नगर इञ्चार्ज रामशरण कुँवर, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, नेकपा माओवादी केन्द्रका सह–ईञ्चार्ज राजु अम्गाईं, राष्ट्रिय जनमोर्चाका मेघराज ढकाललगायतले मन्तव्य राखेका थिए ।
नवनिर्वाचितलाई नागरिकका प्रश्नको चाङ
नवनिर्वाचितलाई नागरिकका प्रश्नको चाङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस