गैंडाकोट,२९ असार।
गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोडभन्दा बढीको बजेट पारित गरेको छ । दुई दिनसम्म चलेको नगरसभाले समृद्ध गैंडाकोट महाअभियानसहित आर्थिक वर्ष २०७४÷७५ को लागि ४३ करोड ६९ लाख ५२ हजारको बजेट पारित गरेको हो ।
नगर प्रमुख (मेयर) छत्र पौडेलले गैंडाकोट नगरपालिकाका प्रत्येक वडालाई ४३ लाख नघट्ने गरी बजेट विनियोजन गरिएको बताए । वडास्तरीय योजनामा छुट्टिएको रकम ७ करोड ७४ लाख छ । “विकासका पूर्वाधारबाहेक बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा महिला लक्षित कार्यक्रममा बजेट विनियोजन भएको छ”, मेयर पौडेलले भने, “वडास्तरीय योजना, ठूला पूर्वाधार तथा प्रवद्र्धनात्मक कार्यक्रममा भारीमात्रामा बजेट छुट्याइएको छ ।”
उनले समृद्ध गैंडाकोट महाअभियान वर्षको रुपमा आगामी पाँच वर्षको कार्यकाल अघि बढाइने बताए । नगरपालिकाले नगरवासीको गुनासो सुन्नको लागि ‘हेलो मेयर गैंडाकोट’ कार्यक्रमको सुरू गर्ने घोषणा पनि गरेको छ । नगरसभाले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तारको कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक टोलको सडकमा सौर्य सडक बत्ती जडान गरी उज्यालो नगर बनाउने घोषणा गरेको छ । त्यस्तै लगानीकर्ताको पहिचान र लगानी आकर्षित गरी नगरपालिकाको पहल र सहकार्यमा ‘गण्डकीको पानीमा गैंडाकोटको लगानी’को दीर्घकालीन अवधारणा ल्याइने मेयर पौडेलले जानकारी गराए । उनले भने, “त्यही अवधारणाअनुसार कालीगण्डकीमा बाँध बाँधी सुरुङको माध्यमबाट थुम्सीमा पावरहाउस निर्माण गर्ने गरी विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरिनेछ ।”
नगर सभाले वडा नम्बर १८ को बोचोखोलाको चुनखानी, दमार र आहालेको बीचमा रहेको कोइलाखानी, मौलाकाली मन्दिरको उत्तरमा रहेको कोइलाखानीको अध्ययन, अन्वेषण र उत्खनन् गरी सञ्चालनमा ल्याउन नेपाल सरकार समक्ष पहल गरिने निर्णय गरेको छ ।
पर्यटन, कृषि, सडक र शिक्षालाई पनि प्राथमिकता दिएर नगर सभाले वडावडामा बजेट विनियोजन गरेको छ । नगरपालिकाको वडा नं १ र १३ धार्मिक पर्यटनको क्षेत्रमा विकास गरिनेछ । नगरसभाले ज्येष्ठ नागरिक संरक्षण र सम्मानमा उचित नीति ल्याइने घोषणा गरेको छ । नगरका टोलटोलमा हरियालीसहित सडक सञ्जाल जोड्ने, गैंडाकोट चक्रपथ निर्माण गर्ने, गैंडाकोटलाई उत्कृष्ट र सुरक्षित आवासीय सहरको रुपमा विकास गर्ने, नारायणी नदी तटबन्धन गरी सार्वजनिक जग्गको संरक्षण गर्ने, किसानलाई निःशुल्क भेटेरिनरी सेवा उपलब्ध गराउने, नगरको सबै क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउने घोषणा नगर सभाले गरेको छ ।
यसैगरी आगजनी, डुबान र कटानबाट बस्ती र जमिनको संरक्षण गर्ने, विभिन्न ९ विधामा गैंडाकोट वर्ष व्यक्तित्व विशेष सम्मान कार्यक्रम ल्याउने, पुशबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, भवन निर्माण संहितालाई कडाइ गर्ने, ७ रोपनी जग्गामा अत्याधुनिक गैंडाकोट सपिङ कम्प्लेक्स निर्माण गर्नेलगायतका सयौं कार्यक्रमहरु नगरसभाले पारित गरेको छ ।
गैंडाकोटको बजेट ४३ करोड बढी
गैंडाकोटको बजेट ४३ करोड बढी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस