विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२९ असार ।
चितवन औद्यागिक क्षेत्रका रुपमा विकास हुने क्रममा छ । एकातर्फ औद्योगिक क्षेत्र बनाउने अभियान चलेको छ, अर्कोतर्फ उत्पादित वस्तुको बजारीकरण तथा औद्योगिक विकासक्रमबारे जानकारी दिन मिल्ने गरी औद्योगिक प्रदर्शनी केन्द्र निर्माणको क्रममा छ ।
देशकै मध्यभागमा पर्ने चितवन औद्योगिक विकासका दृष्टिले महत्वपूर्ण जिल्ला हो । यो आर्थिक वर्षमा मात्रै १ हजार ४३ नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा ८ सय ३६ वटा मात्रै उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालयमार्फत दर्ता भएका थिए । आर्थिक वर्ष ०७१÷०७२ मा १ हजार ९ वटा, आर्थिक वर्ष २०७०÷०७१ मा २५ वटा घरेलु उद्योग दर्ता भएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत होमप्रसाद घिमिरेले उद्योग खुल्ने क्रम उत्साहजनक रहेको बताए । “लगानीमैत्री वातावरण बनेकाले पछिल्ला केही वर्ष उद्योग दर्ता हुने क्रम बढेको छ”, उनले भने, “रोजगारीका अवसर सृजना भएका छन् ।” चालु आर्थिक वर्षमा मात्रै उद्योगमा १ अर्ब २८ करोड ६१ लाख ६६ हजार रुपैयाँ लगानी भएको छ । सबैभन्दा बढी लगानी ४१ करोड ९५ लाख २७ हजार रुपैयाँ उत्पादमूलक उद्योगमा भएको छ । निर्माणमूलक उद्योगमा सबैभन्दा कम २ करोड लगानी भएको छ ।
यो वर्ष १ सय ९३ वटा लघुउद्यमका प्राइभेट फर्म खुलेका छन् भने साझेदारीमा ८ वटा खुलेका छन् । १८ वटा घरेलु उद्योग खुलेका छन् । साना उद्योग तर्फ ७ सय २७ वटा प्राइभेट फर्म, ४१ वटा साझेदारी फर्म, ५६ वटा प्राइभेट लिमिटेड सञ्चालनमा आएका छन् । जसमध्ये २ सय ६९ उत्पादनमूलक उद्योग, कृषि तथा वन उद्योग २ सय ८७, पर्यटनमूलक १ सय ९४, सेवामूलक २ सय ९२, निर्माणमूलक १ वटा उद्योग दर्ता भएका छन् । उर्जामूलक, खनिज जन्य, विज्ञान तथा सूचना प्रविधिका उद्योग हालसम्म चितवनमा स्थापना भएकै छैनन् । चितवनमा हालसम्म ८ हजार ५ सय १९ उद्योग स्थापना भएका छन् । हालसम्म १२ अर्ब ८ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबरको स्थीर तथा पुँजी उद्योग क्षेत्रमा लगानी भएको छ ।
“विदेश जानेभन्दा स्वदेशमै रोजगारीको खोजी गर्न उद्योग स्थापनाले सघाउने छ”, उनले भने, “सरकारले उद्योग स्थापना गर्न सहज व्यवस्था मिलाएपछि दर्ता क्रम बढ्न थालेको छ ।” कार्यालयले स्थिर पूंजि तर्फ ३ करोड रुपैयाँसम्मको उद्योगहरु दर्ता गर्ने गरेको छ भने थोरैमा १ लाखसम्मको साना उद्योगहरु दर्ता गर्ने गरेको छ । यो आर्थिक वर्षमा १ हजार ३ सय २९ उद्योग नविकरण भएका छन् । १ सय ८९ उद्योगले नामसारी गरेका छन् भने ५१ उद्योगले ठाउँसारेका छन् । २ सय ५७ उद्योगले पूँजी वृद्धि गरेका छन् । २ सय ५३ उद्योग बन्द भएका छन् । “उद्योगको सम्भावना विश्लेषण नगरी स्थापना भएका उद्योग बन्द भएका छन्”, प्रमुख उद्योग अधिकृत घिमिरेले भने, “पूँिज अभाव, प्राविधिक पक्ष कमजोर जस्ता कारणले केहि उद्योग बन्द हुन पुगेका छन् ।” कार्यालयले उद्योग तर्फ मात्रै ४ करोड ७३ लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यालयले उद्यमशीलता विकास तालिम, सीप विकास तालिम सञ्चालन गर्ने गरेको छ । “ग्रामीण भेगमा पनि साना तथा घरेलु उद्योग खुल्ने क्रम बढेको छ”, कार्यालयका सूचना अधिकारी तथा प्रशिक्षण अधिकृत रमेशकुमार कर्माचार्यले भने, “प्रोत्साहन गर्न ग्रामीण भेग लक्षित उद्यमशिलता तालिम समेत दिएका छौँ ।” कार्यालयले चालु आर्थिक वर्ष ०७३÷७४ मा २५ लाख बराबरको प्रविधि अनुदानमा २६ जनालाई हस्तान्तरण गरिरहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीय असहयोगका कारण केही उद्योग धरासयी हुने अवस्थामा पुगेको उनले बताए । “पातलो वस्ती हुँदादेखि सञ्चालनमा आएका केहि उद्योग बन्द हुने अवस्थामा पुगेका छन्”, कर्माचार्यले भने, “उद्योग अन्यत्र सार्नुपर्ने माग स्थानीयले गर्दा लगानीकर्ता मारमा पर्ने गरेका छन् ।” मदिरा, रसायन, रंगरोगन, इट्टा, पाइप, औषधि लगायतका उद्योग स्थापना गर्दा वातावरणीय प्रभाव मूल्याङकन गर्नुपर्ने प्रावधान छ । सुरुमा यो प्रावधान पुरा गरेपनि पछि वस्तीलाई असर गर्न थालेपछि केही उद्योग नजिकका स्थानीयले असहयोग गर्ने क्रम पनि बढ्न थालेको छ ।
महिलाको नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशत सम्म छुट हुने प्रावधान अैद्योगिक व्यवसाय ऐन २०७३ मा छ । औद्योगिक सम्पत्ती दर्ता गराउँदा २० प्रतिशत छुटको व्यवस्था छ । यो वर्ष चितवनमा २ सय ६८ जना महिला उद्यमी थपिएका छन् । १ हजार पुरुष उद्यमी थपिएका छन् । हालसम्म १० हजार २ सय ५५ जनाले उद्योगमा लगानी गरेको कार्यालयले जनाएको छ , जसमध्ये हालसम्म १ हजार ७ सय ३६ महिला उद्यमी छन् ।
चितवनमा एकै वर्षमा हजार बढी उद्योग थपिए
चितवनमा एकै वर्षमा हजार बढी उद्योग थपिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस