देवचुली, २१ भदौ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका -५ स्थित ‘देवचुली झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यका साथै झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दिनहुँजसो बढ्दै गएको छ । वर्षौंदेखि ओझेलमा परेको झरना अहिले आएर चर्चामा आएको हो ।
नारायणघाट बुटवल सडक खण्ड शाश्वत धाम नजिकै केउरानी चोकबाट करीब ५ किलोमीटर उत्तर लागेपछी उक्त झरनामा पुग्न सकिन्छ । झरनामा पुगेपछी त्यहाँको हरियाली रमणीय वातावरण, कलकल पानीको आवाज, चिसो हावा र चराहरुको चिरबिर आवाजले मन नै प्रफुल्ल हुने र गर्मीको समयमा करीब ४० मिटर अग्लो चट्टानबाट अनवरत झरिरहेको पानीले शरीर भिजाउँदा निकै नौलो र आनन्द महसुस हुने झरनामा पुगेका स्थानीय नबु आचार्यले बताए ।
हाल लकडाउनको समयमा विद्यार्थीदेखि युवायुवतीको आकर्षणको केन्द्रबिन्दु बनेको छ । झरनामा पुग्न कदमपुरको बाटोहुँदै मृतुङ्गबाट १५ मिनेट जंगलको उकालो गोरेटो बाटोहुँदै जान सकिन्छ । सो झरनामा दैनिक ५० देखी १०० जनाभन्दा बढी पुग्ने गरेका छन् ।
देवचुली नगरपालिका वडा नम्बर ५, ७, ८, ९, १२ बाट दिनहुँ झरनामा नुहाउन तथा अवलोकन गर्न आउने गरेका छन् । अमर सामुदायिक वनमा अवस्थित सो झरनामा पुग्नका लागि राम्रो र उचित बाटो बनाउन सके निकै राम्रो पर्यटकिय गन्तव्य हुने झरनामा नुहाउन पुगेका प्रकाश श्रेष्ठले बताए ।
झरना छ भन्ने कुरा पहिले नै थाहा भएपनि यसलाई उचित व्यवस्थापनसहित प्रचारप्रसार गर्ने सोच भईरहेको साथै आन्तरिक पर्यटकलाई झरनासम्म पुग्न उचित र सहज बाटो बनाउन सम्बन्धित निकायमा पहल गर्ने देवचुली- ५ का वडाध्यक्ष शिवलाल सापकोटाले बताए । सापकोटाका अनुसार आन्तरिक स्रोत र साधनको उचित सदुपयोग गर्दै आन्तरिक पर्यटक भित्रिने वातावरण निर्माण गरी झरनालाई पर्यटकीय गन्तव्य बनाउने वडा कार्यालयको योजना रहेको छ । देवचुली-५ मा पर्यटन क्षेत्रको विकासका लागि निरन्तर पहल गरीरहेको सापकोटाले बताए ।