भरतपुर, १९ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितमध्ये ४६४ जना महिला हुन् भने ८९५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी ३८६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सर्लाहीमा ८०, मोरङमा ७६, नवलपुरमा २८, रुपन्देहीमा ४४ र चितवनमा ८२ जना संक्रमित थपिएका छन् । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १८ हजार ४०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई १३५४ जना घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने २५ हजार ५६१ पुगेको छ । मन्त्रालयका अनुसार हाल विभिन्न छ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाण्डौं, चितवन, पर्सा लगायत १२ वटा जिल्लामा भने अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मृत्यु हुनेहरूमध्ये ४ जना महिला रहेका छन् भने उनीहरूमध्ये एक जना चितवनकी भएको पनि मन्त्रालयले जानकारी दिएको छ । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या २७१ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन् भने १८ हजार ४०४ जना आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४९० वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ६३८ वटा परीक्षण भएका थिए ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर २६ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमा १९ जना वाग्मती प्रदेशका रहेका छन् । यस्तै देशभर १५१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा मात्रै ९० जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।