काठमाडौं- काठमाडौं उपत्यकामा तेस्रो पटक थप भएको निषेधाज्ञा तोड्दै रातो मच्छिद्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो । बाजागाजासहित उपस्थित स्थानीयले करिब २० फिट जति रथ तान्दानतान्दै उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फाहोराले तितरबितर पारेको थियो । प्रर्दशनकारीले प्रहरीलाई ढुंगा र काठ पनि हानेका थिए । अहिले प्रहरीले पुल्चोकमा रहेको रातो मच्छिद्रनाथको रथलाई सुरक्षा दिएर राखेको छ ।
रातो मच्छिन्द्रनाथको रथ पक्कै पनि सम्बन्धित पदाधिकारीले नै तानेको हुनुपर्ने धेरैको अनुमान थियो । तर यो अनुमान भने गलत रहेको दाबी गर्छन् ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन । आफूहरूलाई थाहै नभई रथ तानिएको उनले दाबी गरे । ‘रथ तान्नलाई क्षमापूजा गर्नुपर्छ । १९ गते क्षमापूजा राखेका छौँ,’ उनले भने, ‘कसले तान्यो हामीलाई जानकारी आएको छैन । यो बाहिरी मान्छेहरू आएर तानेका हुन् । हामीमाथि हस्तक्षेप भएको छ ।’
उनका अनुसार ज्यापु समाज, गुठी संस्थान गरी १९ वटा संस्थाको आकस्मिक बैठक बसिरहेको छ । बैठकले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ । विषम परिस्थितिमा रथयात्राबारे अब के गर्ने भन्ने पनि निर्णय बैठकबाट नै हुने भएको छ ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले रथ तानिएकोमा आश्चर्यचकित भएको बताए । ‘यहाँका गुठीयार, ज्यापु समाजलगायतका १९ वटा समाजको भदौ १० गते बैठक बसेको थियो । त्यो बैठकमा म पनि थिएँ,’ महर्जनले भने, ‘त्यो बैठकमा यही समाजभित्रकै विद्वतवर्ग र पञ्चांग समितिलाई जिम्मा दिने निर्णय गरेको थियो । उहाँहरूको परामर्शअनुसार अघि बढ्ने कुरा भएको थियो । यस विषयमा हामीले बुझिरहेका छौं ।’
महर्जनका अनुसार, साउनमा लकडाउन खुकुलो भएपछि बुङमतीबाट देउता ल्याइयो । ‘रथ तान्नैपर्ने मान्यता छ । तर विषम परिस्थिति भएकाले सावाधानी अप्नाउनै पर्ने पनि छ । तसर्थ विद्वतवर्गले गर्ने निर्णय कार्यान्वयन गराउन महानगरले सहयोग गर्छ ।’
रथारोहण भएपछि रथ किन तान्नैपर्छ?
उपत्यकामा तिन जिल्लामा तीन ठूला जात्रा हुने गर्छन् । काठमाडौँको इन्द्रजात्रा, भक्तपुरको बिस्केट जात्रा र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा । काठमाडौँको र भक्तपुरका ठूला जात्रा लकडाउनका कारण हुन सकेनन् । ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार रातो मच्छिद्रनाथको जात्रा पनि यस वर्ष हुने/नहुनेमा दोधार नै थियो । तर लकडाउन खुकुलो बनाएसँगै रथ बनाइयो । साउन १० गते बुङमतीका देउता ल्याइयो ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार अघिपछि चैत्र महिनाको पूर्णिमाको विधिवत् पूजा गरेपछि रथ निमार्ण कार्य सुरु हुन्छ । रथ बनाउने काम गुठी संस्थानले गर्छ भने विधिवत् रुपमा क्षमापूजा गरेपछि ज्यापु समाजबाट रथ तान्ने गरिन्छ । गा बहालबाट रथ तानेर पाटनका गल्ली हुँदै जावालाखेल पुर्याएर पूजा गरेर भोटो देखाएपछि जात्रा सम्पन्न गरिन्छ ।
हरेक १२ वर्षमा एकपटक रथ नै तानेर बुङमतीमा देउता पुर्याउने परम्परा छ । अघिपछि पूजा सकेपछि केही व्यक्तिहरुले खटमा राखेर देउता बुङमती पुर्याउने चलन छ । रथमा राखेर बुङमती देउता पुर्याएको यो वर्ष ८ वर्ष पुगको छ ।
संस्कृतिविद् धौभडेल ललितपुरवासीले रथ नताने भक्तपुरवासीको हक लाग्ने लोकोक्ति रहेको हुँदा रथ तान्न स्थानीयहरुले जोड गरेको हुन सक्ने आँकलन गर्छन् । ‘उपत्यकामा पानीको हाहाकार भएपछि राजा नरेन्द्रदेवका पालामा भक्तपुर, पाटन र कान्तिपुरका केही प्रतिनिधि भारतको आसाममा गई मच्छिद्रनाथ ल्याई बुङमतीमा राखे,’ धौभडेलले भने, ‘देवता बोक्नेमा पाटनका व्यक्ति परेको हुँदा यो देवता पाटनकै क्षेत्र बुङमतीमा राख्ने र पूजा गर्ने जिम्मा पनि पाटनबासीकै भागमा परेको थियो । त्यतिबेला नै पाटनले दसैंअघि पूजा नगरे भक्तपुरवासीको हक लाग्ने उक्ति रहेको र असोजमा मलमास परेको हुँदा रथ तानेको हुन सक्छ ।’
उनका अनुसार स्थानीय र प्रशासनबीच समन्वय भएको र लोकोक्तिका कारण स्थानीय पनि दबाबमा परेको उनले उल्लेख गरे । यद्यपि महामारीका बेला धेरै भेला भएर रथ तान्दा जोखिम थप बढ्ने भएकाले सरकारले प्रहरी खटाएर रथ तानिदिएर थोरै मान्छेको रोहबरमा भोटो देखाएर देवतालाई बुङमती पुर्याउने वातावरण बनाउन भने चुकेको बताउँछन् ।
( स्रोत: नेपाललाइभ डटकम )