विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२८ असार ।
भरतपुर महानगरपालिकाले तरकारी बजार व्यवस्थापन भन्दै नारायणगढका दुई बजारमा बोलपत्र (टेण्डर) आह्वान गरेपछि व्यवसायीले विरोध गरेका छन् । साविकको भाडामा भारि वृद्धि हुने भएपछि उनीहरु आन्दोलनमै उत्रिएका छन् ।
लायन्चोकस्थित तरकारी तथा फलफूल थोक बजार र बालकुमारी खुद्रा बजारको व्यवस्थापन तथा सञ्चालन गर्ने गरी तीन वर्षका लागि टेण्डर आह्वान गरिएपछि विरोध भएको हो । यसअघिको तीन वर्षे सम्झौता यही असार मासन्तमा सकिदै छ । महानगरपालिकाले ५७ स्टलबाट पहिलो वर्ष मासिक साढे ६ लाख, दोस्रो वर्ष साढे ७ लाख, तेस्रो वर्ष साढे ८ लाखका दरले व्यवसायीबाट भाडा लिदै आएको थियो । तर, साउन १ गतेदेखि कायम हुने गरी आगामी २०७७ असार मासन्तसम्म ठेकेदारमार्फत थोक तथा खुद्रा बजार सञ्चालन गर्ने गरी असार ८ गते तीस दिने बोलपत्र आह्वान गरिएको छ, जसमा लायन्सचोकमा मासिक १२ लाख र बालकुमारीमा मासिक १ लाख कम्तीमा कबोल गर्नुपर्ने र वार्षिक १० प्रतिशतले भाडा वृद्धि हुने सर्त छन् ।
फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धिताल ‘कृष्ण’ ले व्यवसायनै विस्थापन गर्ने गरी टेण्डर निकालिएको आरोप लगाए । “अहिलेभन्दा साढे तीन लाख बढी भाडा तिर्नुपर्ने अवस्था ल्याइदैँ छ”, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “ठेकेदारले नाफा लिएर व्यवसायीलाई दिँदा झण्डै ५५ प्रतिशत बढी भाडा दिनुपर्ने अवस्था आउँदै छ, यो अन्याय हो ।”
उनले ठेकेदारमार्फत थोकबजार चलाउन दिँदा किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मारमा पर्ने दावी गरे । “थोकबजारमा सटर बाहिर निःशुल्क किनबेचको कारोबार गर्ने किसानले पनि अब केही रकम बुझाउनुपर्ने अवस्था आउने छ”, उनले भने, “बढी भाडा तिरेर बसेका व्यवसायीले व्यवसाय चलाउन नाफा लिन खोज्दा बजार मूल्य बढ्ने छ, किसान पनि सस्तोमा बेच्न बाध्य हुनुपर्ने देखिन्छ ।”
थोक बजारमै फलफुल व्यापार गर्दै आएका त्रिभुवन पौडेलले कृषि उपज बजारलाई सेवामुखी व्यापारका रुपमा विकास गर्न महानगरपालिकाले रोकेको बताए । “सुरुआती अवस्थादेखि व्यवसाय गर्दै आएका व्यवसायी यो बजारबाट बाहिरिनुपर्ने अवस्था आएको छ”, उनले भने, “ठेकेदारमार्फत होइन व्यवसायीमार्फत थोक बजार चलाइनुपर्छ ।”
ग्रामीण ताजा तरकारी तथा फलफुल उत्पादक ज्यामिरेका अध्यक्ष पूर्णदत्त बस्यालले महानगरपालिकाले हस्तक्षेपकारी नीति लिन नहुने बताउँछन् । “छरिएका व्यवसायी एकीकृत भएका थिए, किसानले कृषि उपजको बजारीकरण गर्ने थलो पाएका थिए”, उनले भने, “ठेक्कामार्फत व्यवसाय चलाउन दिदा किसान बढी मारमा पर्छन्, नीति तथा विधि बनाएर चलाउन दिनुपर्छ ।”
उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ व्यवसायबाटै हात धुनुपर्ने अवस्था सिर्जना गर्न खोजिएकोमा आपत्ति जनाए । “भाडा बढाउँदै व्यवसायीलाई भगाउन खोजिएको छ”, उनले भने, “टेण्डर भन्दै तर्साइएको छ, सलामी प्रथामा अडिएर महानगरपालिकाले यो कदम चाल्नु गलत छ ।”
फलफूल तथा तरकारी थोक व्यवसायी संघले ५ सुत्रीय माग राख्दै आन्दोलनमा होमिएको छ । टेण्डर खारेज गरिनुपर्ने, सर्वपक्षीय समिति गठन गरी बजार सञ्चालन गरिनुपर्ने, बृहत थोक बजार निर्माण एवं कार्यदल गठन गरी काम थाल्नुपर्ने, कृषि बजार ठेकेदारी प्रथाबाट चलाउन नहुने, नीति तथा विधि र प्रविधिमार्फत बजार सञ्चालन गर्नुपर्ने माग राखेको छ । उनीहरुले मंगलबारै महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । माग पूरा नभए महानगरपालिका कार्यालयबाटै थोकबजार चलाउने सम्मको चेतावनी दिएका छन् ।
स–साना टहारामा सञ्चालन भएको लायन्सचोकको थोकबजारमा नगरपालिकाको स्वामित्वका ५७ सटर र निजी क्षेत्रको १ सय सटर सञ्चालनमा छन् । २०५० सालदेखि व्यवसायिकरुपमा तरकारी तथा फलफुलको कारोबार हुन थालेको थियो । लायन्चोकको थोकबजारबाट हाल दैनिक ७० टन कृषि उपजको कारोबार हुन्छ । ४० टन तरकारी तथा ३० टन फलफुलको कारोबार हुने गर्छ । यो थोकबजार चितवनकै सबैभन्दा ठूलो कृषि उपज बजार हो । २०७१ असार ४ गते तत्कालीन नगरपालिका, दलीय प्रतिनिधि, उवासंघ, व्यवसायीहरुबीच ३ वर्षका लागि भाडा समायोजन गरिदिने समझदारी भएको थियो । स्थानान्तरण गर्न कार्यादल गठन गर्ने सहमति भएपछि १४५ प्रतिशत बढी भाडा तिर्नुपर्ने गरी गरिएको टेण्डर रोकिएको थियो । बालकुमारी मावि नजिकै रहेको बालकुमारी खुद्रा बजारमा चहलपहल निकै कम छ । २९ वटा सटर तथा बाहीरी पसलबाट करिव मासिक ५६ हजार आम्दानी हुने गर्छ ।
भाडादर स्वाभाविक छः भमनपा
भरतपुर महानगरपालिकाले टेण्डर प्रक्रिया नरोकिने जनाएको छ । प्रचलित ऐन नियमअनुसारै ठेक्कामार्फत थोक तथा खुद्रा बजार सञ्चालनका लागि टेण्डर निकालिएको जनाएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भाडा उठाउने, भाडामा लगाउने गरी ठेक्कामा बजार सञ्चालन गर्न दिन लागिएको बताए । “महानगरपालिका वा अन्य संघसंस्थालाई विना टेण्डर बजार सञ्चालन गर्न नपाइने प्रावधान छ”, उनले भने, “ऐन, नियमावलीअनुसारै टेण्डर निकालिएको हो, यो प्रक्रिया रोकिदैन ।”
उनले हालको बजार मूल्य विश्लेषण गरेरै टेण्डर निकालिएको बताए । “थोक तथा खुद्रा बजारमा निकै सस्तोमा भाडा लिएर व्यवसाय चलेका थिए”, उनले भने, “राजस्व पनि बढ्ने, प्रतिस्पर्धा पनि हुने भएरै टेण्डर निकालिएको हो ।” तीन वर्षअघि नै महानगरपालिकाले थोकबजार स्थानान्तरण गर्न सकिने वा विकल्पबारे व्यवसायीलाई सोच्न आग्रह गरेको थियो । तर, कार्यकारी अधिकृतको हेरफेरसँगै स्थानान्तरण गर्न जग्गा खोजी तथा पूर्वाधार निर्माणको काम रोकिएको थियो । “टेण्डर खारेजको माग गर्नु तर्कसंगत कुरा होइन”, कार्यकारी अधिकृतले भने, “सक्षम व्यवसायीले कबोल गर्न सक्नेछन्, ऐन विपरितको काम हामीले गर्न मिल्दैन ।” ०५३ चैत २६ मा साना बजार पूर्वाधार विकास समिति र भरतपुर नगरपालिकाबीच २५ वर्षका लागि सम्झौता भएर लायन्सचोकको थोक बजार तयार भएको थियो । तर, उबेला विकास समिति र नगरपालिकाबीच सञ्चालन कस्ले गर्ने भन्नेबारे पूर्वाधार निर्माण काम बीचमै रोकिएको थियो । कृषि उपज बजार सञ्चाल समिति मार्फत् सञ्चालन हुँदै आएको बजार ०७० साउन १ गते देखि नगरपालिकाले स्वयम सञ्चालन गर्दै आइरहेको छ ।