भरतपुर, १८ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितमध्ये ३९४ जना महिला हुन् भने बाँकी ८३४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो हालसम्म एकै दिनमा पुष्टि भएको सबै भन्दा बढी संक्रमितको संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी ३५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सर्लाहीमा १०९, मोरङमा ४६, नवलपुरमा ६, मकवानपुरमा २२ र चितवनमा ५६ जना संक्रमित थपिएका छन् । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई ९१७ जना घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने २४ हजार २०७ पुगेको छ । वाग्मती प्रदेशमा मात्रै कूल १ हजार ५९९ जना संक्रमणबाट मुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न छ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाण्डौं, चितवन, पर्सा लगायत १२ वटा जिल्लामा भने अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या २५७ पुगेको छ ।
यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ७४९ जना क्वारेन्टाइनमा छन् भने १८ हजार ४१३ जना आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर १७ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ भने १४१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा मात्रै १३ जना संक्रमितको भेण्टिलेटरमा र ८५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।